को हुन शेरबहादुर देउवा ?

चन्द्रागिरि ।

शेरबहादुर देउवा मुलुकको ४० औ प्रधानमन्त्रीको रुपमा आज संसदबाट निर्वाचित हुँदैछन् । देउवा संसदको ठूलो दल नेपाली कांग्रेसका सभापति हुन् । २००४ साल डडेलधुरामा जन्मिएका देउवा यसअघि तीनपटक प्रधानमन्त्री भैसकेका छन् । २०७२ फागुन २० देखि २४ मा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित भएका देउवा प्रधानमन्त्रीमा झण्डै दुइ तिहाई सांसदको समर्थनमा प्रधानमन्त्रीमा निर्वाचित हुने तरखरमा छन् । उनलाई माओवादी, राप्रपा, मधेश केन्द्रीतका साथै साना दलहरुको समर्थन छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा विभिन्न समयमा राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजीवन बिताएका छन्। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेविसंघको प्रथम सभापति हुँदै २०४६ सालमा प्रजातन्त्र आएपछिका तीनवटै संसदीय निर्वाचन र दोश्रो जनआन्दोलन पछिका दुईवटै संविधानसभा चुनावमा लगातार विजयी हुदै आएका छन् ।

४५ वर्षको उमेरमा गृहमन्त्री बनेको ५ वर्ष नवित्दै उनी प्रधानमन्त्रीपदमा आसीन हुन पुगेका थिए । २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

राजनैतिक संघर्षका क्रममा नौ वर्ष जेलजीवन बिताएका देउवाले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा ‘असक्षम’ को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्ष पछि २०६१ सालमा देउवालाई पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रजातन्त्रप्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधै विजयी गराउँदै आएको मान्ने देउवा संविधान सभामा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउँछन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । देउवा एक छोरा जयबिर देउवाका पिता हुन् र उनकी श्रीमती आरजु राणा देउवा पनि सांसद छिन् ।

कहिले कहिले भए देउवा प्रधानमन्त्री ?

१.पहिलो पटक –२०५२ भाद्र २७ देखि २०५३ फागुन २० (५७४ दिन /१८ महिना
२.दोस्रो पटक –२०५८ श्रावण ११ देखि २०५९ आश्विन १८ (४३५ दिन /साढे १४ महिना )
३. तेस्रो पटक –२०६१ जेठ २१ देखि २०६१ माघ १९ (२४३ दिन/८ महिना )

यसअघि तीनपटकसम्म सरकार चलाएको अनुभव भएका देउवा सत्ताका माहिर खेलाडी समेत मानिन्छन् । यद्यपी उनले यसअघि सरकारको नेतृत्व गर्दा असफल प्रधानमन्त्रीको आरोप समेत लागेको छ । शासनसत्ता राजालाई बुझाएको आरोप समेत खेपेका देउवाले अव भने मुलुकलाई कसरी हाँक्छन् त्यो भने हेर्न बाँकी छ ।