चन्द्रागिरि केबलकारको विज्ञापनमा मह जोडी सँगै दिपक र दिपा (भिडियो सहित)

चन्द्रागिरि ।

चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवर्द्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथसाथै दीपकराज गिरी र दीपा श्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवर्धनात्मक  भिडियोको निर्देशन तथा परिकल्पना दिनेश डीसीले गरेका हुन् ।

बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री  बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकाबीच  चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका थिए ।

प्रवर्धनात्मक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्यातीप्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए । कम्पनीका संचालक मिन बहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका थिए । संचालक हेमराज ढकालले कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत मात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। संचालक अम्बिका प्रसाद पौडेलले स्वागत मन्तव्य  व्यक्त गर्दै चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पार्नु पारेका थिए ।

विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा  कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।