सतुंगल–देउराली–कुलेखानी सडकको निरीक्षणमा मुख्यमन्त्री डोरमणि पौडेल

हेटौंडा, १३ असोज,

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–काठमाण्डौ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको सतुंगल–मातातिर्थ–देउराली–कुलेखानी सडकको शनिबार अवलोकन गरेका छन । मुख्यमन्त्री पौडेलले सो सडक स्तरीकरणका लागि काम सुरु गराउनका लागि अनुगमन गरेका हुन् । प्रदेश सरकारले सो सडक निर्माणका लागि सर्वे पनि सुरु गरिसकेको छ ।

हेटौंडा–फाखेल–काठमाण्डौ सडक खण्डको फाखेलको महालक्ष्मी हुँदै चखेल देउराली हुँदै सो सडक काठमाडौमा जोडिएको छ । हेटौंडा प्रदेशको अस्थाई राजधानी भएसंगै सडक सञ्जाल विस्तार गर्न उक्त सडकको स्तरीकरण गर्न लागिएको मुख्यमन्त्री पौडेलले जानकारी दिएका थिए ।

सो सडक भएको स्थानमा तरकारीहरु धेरै उत्पादन हुने भएकोले बजारीकरणमा पनि थप सजिलो हुने भन्दै मुख्यमन्त्री पौडेलले सो सडकको सञ्जाल विस्तार भए पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने बताएका थिए।
हाल एकतर्फीरुपमा आवत जावत हुने कच्ची सडकलाई कालोपत्रे गरी २ लेनको बनाईने पनि मुख्यमन्त्री पौडेलले सो अवलोकनका अवसरमा जानकारी दिएका थिए ।

प्रदेश सरकारले सो सडकका लागि हाल ४ करोड विनियोजन गरेको छ भने स्तरीकरण सुरुभएसंगै बजेट रकम पनि थप हुने बताईएको छ । फाखेलको महालक्ष्मी देखि काठमाण्डौ कलंकी चोकसम्म उक्त सडकको दुरी २१ किलोमिटर रहेको छ । मकवानपुर र काठमाडौंको सिमानामा रहेको देउराली भन्ने स्थानबाट मनोरम दृष्यको अवलोकन समेत गर्न सकिने छ ।

फोटो: कपन अनलाइन