स्थानियलाई सडकको धुलो र हिलोको हैरानी आखिर कहिले सम्म ?

काठमाडौं । कलंकी–नागढुङ्गा सडक निर्माण कार्यको निर्धारित ठेक्का समय सकिए पनि सडक निर्माणमा प्रगति नभएपछि स्थानीयहरु आक्रोशित भएका छन् ।

सरकारले त्रिपुरेश्वर–नागढुंगा सडक (१२ किमि) निर्माणकालागि २०७२ साउनमा मुख्य ठेकेदार शारदाप्रसाद अधिकारी नेतृत्वको सैलुङ कन्स्ट्रक्सनलाई ३० महिने समय तोकेर ठेक्का दिएको थियो । करिब एक अर्व रुपैयाको लागतमा निर्माणकार्य भइरहेको सो सडक खण्डको निर्माणकार्य करिब ३५ प्रतिशतमात्र सम्पन्न भएको छ ।

सो सडकखण्डमा पानी परेकाबेला हिलाम्य हुने र घाम लागेकाबेला धुलाम्य हुने समस्याले नागरिकहरु निकै सास्ती खेप्न बाध्य छन् । कलंकी–नागढुंगा (९ किमी) सडकमा सबैभन्दा समस्या भएको कालीमाटी, सतुंगल, गर्जुधारामा घरहरु भत्काउन बाँकी रहेको छ।