५७ करोड भ्रष्टाचारका आरोपी ५० लाख धरौटीमा रिहा

११ मंसिर, काठमाडौं । यातायात व्यवस्था कार्यालय, कोशी इटहरीमा भएको ६१ करोड रुपैयाँ अनियमिततामा संलग्न आरोपित टिकाराम अधिकारी ५० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

विशेष अदालतको आइतवारको थुनछेक आदेशले कारागार चलान भएका अधिकारी एक दिनपछि ५० लाख धरौटी बुझाएर सोमवार साधारण तारेकमा रिहा भएका हुन् ।

आइतवार अदालतका न्यायाधीशत्रय बाबुराम रेग्मी, चण्डीराज ढकाल र नारायणप्रसाद ढकालको संयुक्त इजलासले उनीविरुद्ध ५० लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि डिल्लीबजार कारागार चलान भएका थिए । सोमवार उक्त धरौटी रकम बुझाएपछि रिहा भएका अदालतका प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले जानकारी दिए ।

राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध ५७ करोड २५ लाख रुपैयाँ बिगो दावीसहित गत ४ असारमा मुद्दा दायर गरेको थियो ।

तत्कालीन लेखा अधिकृत अधिकारीसहित कार्यालयका आठ जना कर्मचारीविरुद्ध गत ४ असारमा आयोगले अदालतमा मुद्दा दायर गरेको थियो । संलग्न अधिकारीहरूले कुल ६१ करोड २१ लाख रुपैयाँ राजश्व हिनामिना गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

अनियमिततामा संलग्न रहेका आरोपित अन्य अधिकारीहरू भने अझै वयानका लागि अदालतमा उपस्थित भएका छैनन् ।

अख्तियारले अनियमिततामा संलग्न रहेको भन्दै कार्यालयका उपसचिवत्रय रमेशप्रसाद दाहालसँग १२ करोड ३० लाख, विष्णुप्रसाद पौडेलसँग २३ करोड ७७ लाख र नयराज नेपालसँग २५ करोड १३ लाख रुपैयाँ बिगो दावी गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

सोही अनियमितताका आरोपित लेखा अधिकृत कुमारबहादुर कटवालसँग २ करोड १४ लाख, लेखापालहरू सुरेश अधिकारीसँग ६१ करोड २१ लाख, देवराज नेपालसँग ४५ करोड ६१ लाख र रुद्रप्रसाद दाहालसँग पनि अख्तियारले २१ करोड ६३ लाख रुपैयाँ बिगो कायम गर्दै अदालतमा मुद्दा दायर गरेको थियो ।

आरोपितमध्ये उपसचिवद्वय दाहाल र पौडेलले भने अझै म्याद बुझ्न अस्वीकार गरेको अदालतले जनाएको छ ।

उनीहरूले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ को अवधिमा उक्त परिमाणको राजश्व हिनामिना गरेका थिए ।