पछिल्लो वर्षाले थप सडकमा क्षति

काठमाडौँ, भदौ १४ गते । केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।

पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरामा अवरुद्ध छ ।

पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ । भिट्ठामोड–जलेश्वर–बर्दिवास, खुर्काेट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ ।

अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताउनुभयो । पहिराका कारण त्यहाँको डाइभर्सन बगाएको छ । आइतबार र सोमबार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उहाँले बताउनुभयो । यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ ।

बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ । पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उहाँको भनाइ छ । केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ । आइतबार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ । वर्षाका कारण गत महिनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महिनादेखि अवरुद्ध छ । पछिल्लो वर्षाले यहाँ थप पहिरो गएको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “एकातिरबाट सडक खुलाउन लागिरहँदा पहिराले थप अवरोध गरेको छ ।”

यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो । जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका सङ्घीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो । सङ्घीय सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ ।

सडक विभागले सकेसम्म चाँडो सडक खुलाउन लाग्ने गरेको उपमहानिर्देशक अधिकारीले बताउनुभयो । विभागले सकेसम्म दुवैतर्फबाट सवारीसाधन चल्न सक्ने गरी पहिरो पन्छाउने गरेको छ । कतिपय स्थानमा सडक नै कटान भएकामा एकातर्फबाट मात्रै चालू गराइएको उहाँले बताउनुभयो । विभागले क्षतिको अवस्था र सडकमा हुने सवारीसाधनको चापका आधारमा एकातर्फ मात्रै खुलाउने कि दुवैतर्फ खुलाउने भनी निर्णय गर्छ ।

सडक नै भासिएको स्थानमा तत्काल दुवैतर्फ चल्नसक्ने बनाउनुभन्दा एकातर्फबाट मात्रै चलाउन उपयुक्त हुन्छ । ती सडकमा तत्काल एकातर्फबाट र वर्षा कम भएपछि तलबाट पर्खाल लगाएर दुवैतर्फ सडक चालू गरिन्छ । सवारी चाप भएका ठाउँमा भने क्षति भए पनि दुवैतर्फ चालू गर्नुपर्छ । पछिल्लो वर्षाले कुरिनटार नजिकै सडक अवरुद्ध गरेको थियो । उहाँले भन्नुभयो, “यो सडकमा चाप बढी भएकाले एकातर्फबाट खुलाएर हुँदैन र दुवैतर्फ खुलाइएको छ ।”

यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै रु दुई अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ । निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ । चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ ।

विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जनाएको छ । वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन् । अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जनाएको छ ।