राजन केसी मन्त्री बन्ने पक्का, सपथ ग्रहण बुधबार

चन्द्रागिरि ।

प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्ने भनिएपनि अन्तिम समयमा पुनः विवाद सृजना भएको छ । काँग्रेस नेता रामचन्द्र पौडेल पक्षबाट मन्त्रिपरिषद् मा सहभागी हुने महिला नेतृको नाममा सहमति हुन नसकेपछि मन्त्रीमण्डल बिस्तार नै अन्योलमा परेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साँझ ५ बजेका लागि सपथको तयारी गर्न राष्ट्रपति कार्यालयलाई आग्रह गरेको थियो । संस्थापन र पौडेल पक्षबाट ४–४ तथा नेता कृष्ण सिटौला र खुमबहादुर खड्का पक्षबाट एकएक जनालाई सहभागी गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रीमण्डल बिस्तारको तयारी गरेका थिए । यस्तै सत्ता साझेदार दलहरु माओवादी केन्द्रबाट ६ र नेपाल लोकतान्त्रिक फोरमबाट दुई जना गरी १८ मन्त्री थप गर्ने तयारी देउवाको छ । यसअघि कांग्रेस र माओवादीबाट समान ३ र लोकतान्त्रिक फोरमबाट एक जनालाई सहभागी गराउदै प्रधानमन्त्री देउवाले गत जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । कांग्रेस नेता पौडेल पक्षमा कमला पन्त र सरिता प्रसाईंमध्ये कसलार्इ मन्त्रीमण्डलमा पठाउने भन्नेबारे सहमति हुन सकेको छैन ।

महामन्त्री शशांक कोईरालासहितका नेता प्रसाईंको पक्षमा उभिएपनि केही नेताले पन्तलाई पठाउनु पर्ने अडान लिएपछि सहमति हुन नसकेको एक नेताले बताए ।  सत्ता नेतृत्वकर्ता दलभित्रै मन्त्री बन्नेको नाममा सहमति हुन नसकेपछि सपथ ग्रहण भोली बिहानका धकेलिएको कांग्रेस नेता बिमलेन्द्र निधिले बताए । रेडियो कान्तिपुरसँग कुरा गर्दै नेता निधिले आज साँझसम्ममा कांग्रेसले मन्त्री बन्नेको नाममा सहमति जुटाउने र भोली बिहान सथप ग्रहण हुने उल्लेख गरे । कांग्रेस संस्थापन पक्षबाट मीन विश्वकर्मा, वीरबहादुर बलायर, अर्जुन जोशी र अम्बिका बस्नेत, पौडेल पक्षबाट बलबहादुर केसी, रामकृष्ण यादव, राजेन्द्रबहादुर केसी, सिटौला समूहबाट भीमसेनदास प्रधान र खड्का तर्फबाट मोहनबहादुर बस्नेतको नाममा भने कांग्रेस भित्र सहमति जुटेको छ ।

माओवादी केन्द्रले मन्त्रीको नाम टुंग्याए पनि सार्वजनिक गरेको छैन । गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, आशा खनाल, टेकबहादुर बस्नेत, सीता नेपालीलगायतमा सहमति भएको चर्चा छ । फोरम लोकतान्त्रिकले भने यसअघि नै मन्त्री भएका जितेन्द्र देव र गोपाल दहितलाई पठाउने भएको छ ।