
चन्द्रागिरी नगरपालिकास्थित कलंकी–नागढुङ्गा सडक सरसफाई अभियान सुरु भएको छ । चन्द्रागिरी नगरपालिकाको समन्वय तथा चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिको आयोजनामा २० दिने सरसफाई अभियान आजबाट सुरु भएको हो । अभियानको चन्द्रागिरी नगरपालिका नगर प्रमुख घनश्याम गिरीले उद्घाटन गरे ।
प्रमुख गिरीले चन्द्रागिरीलाई स्वच्छ हरावरा र धुलो मुक्त नगर बनाउने अभियान लागिपरिरहेको बताए । नगरपालिकाको अभियानलाई गाउँगाउँसम्म लैजान आफूहरु लागिपरेको चन्द्रागिरी नगरपालिका फोहोरमैला व्यवस्थापन समितिका सल्लाहकार राजेन्द्र महर्जनले बताए ।
सरसफाई कार्यक्रममा महानगरी प्रहरी प्रभाग बलम्वु पनि सामुदायीक प्रहरी साझेदारी अन्तर्गत सहभागी भएको बलम्वु प्रहरीका प्रहरी निरीक्षक शंकर खड्काले बताए । सरसफाई अभियानमा चन्द्रागिरी रेडक्रस सर्कल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागीता रहेको छ ।