नागढुङ्गा–कलङ्की सडकमा सिसिटिभी जडान गरिने

रोशन दानी,



jibss

काठमाडौं, ०२ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भिम ढकालले प्रणय दिवसको अवसरमा दुर्घटना न्यूनीकरणका लागि विद्यार्थी, स्थानीय, चालक र सरोकारवालाहरुलाई ट्राफिक नियमको पालना गर्न आग्रह गर्नुभएको छ ।

‘समुदाय–प्रहरी साझेदारी पालिका’ समिति चन्द्रागिरीले सतुंगलमा आयोजना गरेको ट्राफिक सचेतना कार्यक्रम अन्तर्गतको ‘सडक दुर्घटना न्यूनीकरणको लागि ट्राफिक सचेतना कार्यक्रम’मा बोल्दै ट्राफिक महाशाखा प्रमुख ढकालले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जसरी प्रेमी, प्रमिकाबीच आपसी माया र आत्मियता हुन्छ । त्यसैगरी ट्राफिक नियमलाई पनि प्रेमपूर्वक पालना गर्दा दुर्घटनामा न्यूनीकरण हुनेछ ।

हामीले विश्वास लिएका छौं, तपाईं र हाम्रो आजको प्रेम र स्नेह भनेकै दुर्घटना न्यूनीकरण गर्नु हो । दुर्घटनाबाट कसैको माया नखोसियोस् ।’

उपत्यका नगरपालिकामा नमुना ट्राफिक क्षेत्र बनाउन सबै स्थानीय निकाय लाग्नुपर्ने र महाशाखाले केही स्थानीय निकायको सहकार्यमा व्यवस्थित ट्राफिक जोनका लागि गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले चन्द्रागिरी नगरपालिकाको कलंकी–नागढुंगा सडकखण्डमा छिटै सीसीटिभी र सडक बत्ति जडान गर्न सरोकारवाला निकायसँग सहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले करीब एक करोडको बजेट विनियोजन गरेर काम सुरू गर्न लागेको र छिट्टै ट्राफिकमैत्री नगरपालिका बनाउने अभियानमा लागेको बताउनुभयो ।

चन्द्रागिरी नगरपालिका अन्तर्गतको राजमार्ग तथा भित्री सडकखण्डमा हालको सडक दुर्घटना जोखिमको अवस्था, त्यसको न्यूनीकरण तथा नियन्त्रण गर्न ट्राफिक प्रहरी तथा प्रहरीले के–कसरी कार्य गरिरहेको छ ? भन्ने विषयमा सरोकारवाला निकायहरूसँग सहकार्य भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले प्रष्टाउनुभयो ।

कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले सरकारले दुर्घटना न्यूनीकरणमा ध्यान दिन नसक्दा बर्षिनी सयौं जनधनको क्षती हुने गरेकोप्रति चिन्ता व्यक्त गगर्नुभयो ।

उहाँले मालबाहक सवारी साधनलाई उचित पार्किङको व्यवस्था गर्न नसक्दा व्यवसायीहरू मार्कामा पर्दै आएको बताउनुभयो ।

कार्यक्रममा उचित ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटनाको प्रभावकारी अनुसन्धान गर्ने प्रहरी कर्मचारी, मध्य महानगरीय प्रहरी बृत्तका थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्मा, थानकोट ट्राफिकका प्रहरी नायब निरीक्षक जीवनाथ कोइरालालगाएतलाई सम्मान गरिएको छ ।