पैदलयात्री नागढुङ्गामा लुटिए

–सुरेश झा

हेटौंडा । लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर  पैदल हिँडेर  घर जान  लाग्दा नागढुङ्गामा लुटिएका छन्  । काठमाडौँमा घर निर्माणमा  संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लुटिएका हुन् ।  

नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर निजलाई लुटिएको थियो । भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेस्र्याएर निजसँग रहेको रु १५ हजार   र  झोला लुटिएको बताइएको छ  ।  ठेकेदारले घर जनालाई रु १५ हजार  दिएका थिए । लुटिएपछि पैसाको अभावले पीडित चौधरी  भोकै हेटौँडासम्म आइपुगेका थिए ।

बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर  प्रहरीलाई जिम्मा लगाएको थियो  । उनी विराटनगर जान लागेका थिए । लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै  आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ  । बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताए । रासस