
रोशन दानी,
काठमाडौं । राजधानीको चन्द्रागिरीमा हुने अपराधिक क्रियाकलपालाई निरुसाहित गर्न सरोकारहरुको बैठक सम्पन्न भएको छ । चन्द्रागिरी हिल्सको भालेश्वर मन्दिरमा सम्पन्न बैठकले राजधानीमा बढ्दो अपराधिक क्रियाकलाप रोक्न र मुख्य नाकाबाट हुने अपराधिक गतिविधिहरुलाई कन्ट्रोल गर्न, बढ्दो चोरी, लुटपाट, लागूऔषध नियन्त्रण गर्न सरोकारवाला निकायबीच छलफल भएको हो ।
समूदाय प्रहरी साझेदारी चन्द्रागिरी पालिकाको बैठकमा बोल्दै चन्द्रागिरी नगपालिकाका नगर प्रमुख घनश्याम गिरीले वढ्दो अपराध नियन्त्रण कम गर्न समूदायमा आधारित जनचेतना मुलक कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने बताए । नगर प्रमुख गिरीले राजधानी छिर्ने र बाहिरीने मुख्य नाका भएका कारण सुरक्षा चुनौती निकै भएको कारण डिजिटल प्रविधिमा जोड दिदै पहिलो चरणमा कंलकीदेखि नागढुंगासम्मको सडकमा सीसी टिभी जडान गरिने बताए ।
महानगरीय प्रहरी वृत्त थानकोटको प्रमुख प्र.ना.उ. कुमार विक्रम थापाले राजधानीमा बढ्दो लागूऔषध नियन्त्रणमा आफूहरुले सक्दो भूमिका खेलेको बताए । थापाले गत आर्थिक बर्ष २०७५÷०७६ मा १४४ वटा लागूऔषध मुद्धामा १९९ जना लागूऔषध सेवन तथा खरिद्ध विक्री गर्ने विरुद्ध कारवाही गरिएको जानकारी दिए ।
चन्द्रागिरी नगरपालिका क्षेत्रमा रहेका विद्यालय वरपर सूर्तीजन्य पदार्थ विक्री वितरण गर्न रोक लगाउने निर्णय समेत बैठकले गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले निर्णयसँगै कार्यान्वयनमा पनि जानुपर्ने हुँदा विद्यालय वरपर रहेका पसलहरुलाई सूर्तीजन्य पदार्थ निषेधित गर्न पहिलो चरणमा जानकारी तथा चेतावनी दिने र दोश्रो चरणमा कारवाही गरिने बताए ।
कार्यक्रममा चन्द्रागिरी नगरपालिकामा हुने समूदाय प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाउन नीति तथा कार्यक्रम समेत पास गरिएको छ ।