
दुई दिनदेखिको अविरल वर्षाका कारण राजधानी लगएत मुलुकको अवस्था अस्तव्यस्त बनेको छ । काठमाडौंको बलम्वु, त्रिवेणी र बल्खु खोलाको पानी बस्तीमा पसेर डुवान भएको छ ।
यसरी लगातार वर्षाका कारण नदीहरुमा पानीको सतह बढेको छ । खोला किनारमा रहेका घरहरु डुबानमा परेपछि महानगरीय प्रहरी बृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग बलम्वुले उद्धार गरिरहेको छ । थानकोट वृत्तका डिएसपी कुमार विक्रम थापाका अनुसार सतुंगल बालकुमारी, थानकोट, विष्णुदेवी खोला किनारमै बसोबास गर्ने ५० भन्दा बढीको उद्दार गरिएको छ ।
चन्द्रागिरी १५ नम्बरमा डुवानमा परेका व्यक्तिहरूको उद्धारका लागि सशस्त्र प्रहरी समेत परिचालित भएका छन् । बाढीबाट के–कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको विपद् व्यवस्थापनको टोलीले डुबानमा फसेकाहरूको उद्धार कार्य गरिरहेको छ ।
काठमाडौंको सतुंगल, कालिमाटी, बल्खु खोलालगायतका स्थानमा वर्षाको प्रभाव परिसकेको छ । कतिपय स्थानीयहरुलाई आवश्यक सामानहरु सार्न अनुरोध गरिएको प्रहरीको भनाइ छ ।
उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ रहेका जनाइएको छ । काठमाडौंको चन्द्रगिरी नगरपालिकाका तीनथाना र कीर्तिपुरको बीचमा बगिरहेको बल्खु खोलाले छेउछाउको घर डुबानमा परेपछि उच्च सतर्कता अपनाइएको छ ।
त्यसैगरी बल्खु खोलाले बर्दियाका ३२ वर्षीया विनोद चौधरीलाई बगाएको छ । बल्खु खोलाले बगाएर ल्याएको ग्यास सिलिण्डर समाउने क्रममा उनी पनि सँगै बगेका हुन् । पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको छ ।