काठमाडौं : एसीसी यू १९ एसिया कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।
नेपाल यो प्रतियोगितामा सेमिफाइनल पुगेको पहिलो पटक हो। समूह ए मा बंगलादेश तीन खेलबाट ६ अंक जोडेर समूह बिजेता बनेको छ। तीन खेलबाट चार अंक जोडेको नेपाल समूह उपविजेता बनेको छ।
मंगलबार भएको अर्को खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपालको सेमिफाइनल यात्रा सहज बनेको हो। भारत यसअघिका तीन वटै संस्करणको विजेता हो। पहिलो संस्करणमा पाकिस्तानसँग संयुक्त विजेता बनेको भारतले अघिल्ला दुई संस्करणमा विजयी हात पारेको थियो।
आफ्नो पहिलो खेलमा बंगलादेशसँग २ विकेटको झिनो अन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा अर्को टेस्ट मान्यता प्राप्त भारतलाई १९ रनले हराएको थियो। मंगलबारको खेलमा १३ रनको अन्तरमा १० विकेट लिएपछि नेपालले पहिला ब्याटिङ गरेको मलेसियालाई ४५ रनमा समेटेको थियो। नेपालका स्पिनर सन्दीप लामिछानेले ४।३ ओभरमा ८ रन खर्चिएर ५ विकेट लिए। यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले २ ओभरमा एक मेडन राखेर १ रन खर्चिदै २ विकेट लिए।
नेपालले ४६ रनको झिनो लक्ष्य ५।१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो। प्रारम्भिक ब्याट्सम्यान अनिलकुमार शाह २६ रनमा अविजित रहे। कप्तान ऐरीले ३ बलमा २ छक्काको सहयोगमा १२ रन बनाएर पेबिलियन फर्किए।
अर्नपूर्ण पोस्ट
Leave a Reply
You must be logged in to post a comment.