च्याम्पियन्स लिग फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा आज युरोपका दुई ठूला क्लब, रियल म्याड्रिड र लिभरपुल भिड्दैछन्। खेल नेपाली समयानुसार रातको १२:३० मा सुरु हुनेछ।



jibss

फुटबल इतिहासको यो ६३ औं च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले कीर्तिमानी १२ पटक यस प्रतियोगताको उपाधि जितेको छ। यसअघिका दुई सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको रियल पहिलो पटक लगातार तीन उपाधि जित्ने टोली बन्ने प्रयासमा रहनेछ। लिभरपुलले भने ११ वर्षमा पहिलो पटक फाइनल खेल्दैछ।

olimpskiy

तस्बिरमा किभ स्थित ओलम्पीस्किभ स्टेडियम जँहा फाइनल हुँदैछ। यस मैदानको क्षमता ७० हजार भन्दा धेरै छ। तर युइएफएले फाइनलमा ६३ हजार टिकट मात्र बेच्नेछ। हरेक टिकटको मूल्य ९ हजार देखि ५६ हजार नेपाली रुपैंया बराबरको छ। युइएफएले रियल र लिभरपुल दुवैलाई १६ हजार ६ सय २६ टिकट बेच्न अनुमती दिएको छ। बाँकि स्थान भने न्युट्रल समर्थकहरुले पाउनेछन्।

लिभरपुलका प्रशिक्षक यर्गन क्लपले रियलको बेञ्च बलियो भएपनि लिभरपुल फाइनल जित्न तयार रहेको बताएका छन्। खेल अघिको प्री म्याच कन्फरेन्समा बोल्दै क्लपले भने, “रियल म्याड्रिडको बेञ्च बलियो छ, हामो बेञ्च तुलनात्मक रुपमा कमजोर छ। तर पछिल्लो केहि समयको तुलनामा फिट्नेसले हामीलाई समस्या दिने छैन। त्यसैले हामी पूर्ण रुपमा जित्न तयार छौं।”

फाइनलमा भने लिभरपुलका एलेक्स ओक्सलेड च्याम्बरलेन, जो गोमेज र जोएल म्याटिप चोटका कारण खेल्ने छैनन्। एमरे च्यान भने चोटबाट फर्किने सम्भावना छ। रियललाई भने कुनै पनि चोटको समस्या छैन।

रियलका प्रशिक्षक जिनेदिन जिदान रियल केही दबाबमा रहेपनि नतिजा आफ्नो पक्षमा पार्ने बताउँछन्, “यो खेलको महत्वका कारण रियल केही दबाबमा हुनेछ। खेलमा दुईमध्य एक टोली निरास हुनेछ। हामी विपक्षीलाई निरास पार्नेछौं। “

लिभरपुल यो सिजन च्याम्पियन्स लिगमा राम्रो लयमा देखिन्छ। यस प्रतियोगितामा ४६ गोल गर्दै एकै सिजनमा सर्वाधिक गोल गर्ने टोलीको रुपमा लिभरपुलले कीर्तिमान बनाइसकेको छ।