म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतद्वारा सफाइ

Suspended skipper Sagar Thapa talks to media persons upon his arrival at the Special Court in Babarmahal on Tuesday, October 27, 2015. Photo: Udipt Singh Chhetry/ THT

काठमाडौँ, २४ जेठ । म्याच फिक्सिङको आरोप लागेका सागर थापासहित ६ जनालाई विशेष अदालतले सफाइ दिएको छ । राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापालाई अदालतले सफाइ दिएको हो ।



jibss

अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्यद्वय प्रमोदकुमार श्रेष्ठ बैद्य र नारायणप्रसाद पोखरेलको इजलासले बिहीबार सफाइ दिने फैसला सुनाएको हो । फिक्सिङको आरोपमा २७ असोज २०७२ मा सागर थापासहितका खेलाडी पक्राउ परेका थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको थियो ।

तर, २४ कात्तिकमा सबै धरौटी बुझाएर छुटे । अञ्जन केसी र रितेश थापाले ५ लाख, सागरले १ लाख ५० हजार र अन्यले ५० हजार धरौटी तिरेका थिए । फिक्सिङको आरोपमा फुटवल खेलाडीहरु सन्दीप राई, विकास सिंह क्षेत्री पनि पक्राउ परेका थिए ।

नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर हारेको भेटिएको भन्दै प्रहरी पक्राउ गरेको थियो । उनीहरुमाथि इराक, फिलिपिन्स, अफगानिस्तान, कुवेत लगायतका राष्ट्रमा भएका प्रतियोगितामा मिलेमतोमा खेल खेलेको आरोप लागेको थियो ।

यी खेलाडीमाथि उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप थियो । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो ।

उनीहरुले प्रहरीसामू फिक्सिङ स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिए । मुद्दा चलिरहेका बेला फिफाले उनीहरुमाथि आजीवन प्रतिबन्ध लगाईसकेको छ ।