
रोमा (एजेन्सी) – रोमालाई समग्रमा ७-६ ले पराजित गर्दै लिभरपुलले च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ। पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलदोस्रो लेगमा ४-२ ले पराजित भएपनि फाइनलमा स्थान पक्का गरेको हो।
यो लिभरपुलको प्रतियोगितामा पहिलो पराजय हो।फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्नेछ। रियलले बायर्न म्युनिखलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल युकारेनको राजधानी किभमा २६ मेमा हुँदैछ।
पहिलो लेगमा ५-२ को अग्रता लिएको लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा अग्रता लियो। रोबर्टो फर्किनोको पासमा मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।
घरेलु टोलीले १५ औं मिनेटमा जेम्स मिल्नरको आत्मघाती गोलमा बराबरी गर्यो। लिभरपुलका डिफेन्डर डेजान लोभ्रेनले क्लियर गर्ने क्रममा बल मिल्नरलाई लाग्दै गोल भएको थियो। लिभरपुललाई जोर्जिनियो वाईनाल्डमले क्लबका लागी पहिलो अवे गोल गर्दै पुनः अग्रता दिलाए। हेडरमा गोल गर्दै उनले २६ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाए।
घरेलु टोली रोमाले दोस्रो हाफमा पनि पोजेसन राख्दै गोल गर्ने थुप्रै प्रयास गर्यो। ५२ औं मिनेटमा इडेन जेकोले गोल गर्दै खेल बराबरीमा पुर्याए। त्यस्तै ८७ औं मिनेट र अतिरिक्त समयमा नाइगोलानले पेनाल्टीमा गोल गर्दै रोमाको पुनरागमनको आशा जोगाएपनि त्यो पर्याप्त रहेन। राग्नर क्लाभानले डि बक्समा ह्यान्ड गरेपछि रोमाले पेनाल्टी पाएको थियो।