विश्वकपको उपाधि भिडन्त आज, कसले उचाल्ला ट्रफी ?

काठमाडौं, असार ३१ । रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ ।



jibss

रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् ।

सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् ।

फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो ।

सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो ।

उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो । स्न १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो ।

यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ ।

आजको खेलमा फ्रान्सका लागि एन्टोनियो ग्रेजम्यान र किलियन एम्बाप्पे तथा क्रोएसियाका लागि लुका मोड्रिच र ईभान पेरिसिचको प्रदर्शन निर्णायक हुनेछ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।

जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् ।

क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेल बराबरी गरेको छ ।