
छनोटका लागि जित्दै पर्ने खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि साविक विजेता जर्मनी विश्व कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । कोरियाले दुवै गोल इन्जुरी समयमा गरेको थियो ।
९ मिनेटको इन्जुरी समयको तेस्रो मिनेटमा किम योङ र छैटौं मिनेटमा सन ह्युङमिनले गोल गरेका थिए । किमको गोल सुरुमा अफसाइड लिइएपनि भिएआरको प्रयोगपछि गोल दिइएको थियो । दबाबमा परेको जर्मनीले गोल फर्काउन आक्रामक रणनीति अपनाउँदा काउन्टर एट्याकमा अर्को गोल खाएको थियो ।
समूह ‘एफ’को अर्को खेलमा मेक्सिकोलाई ३–० ले हराउँदै स्विडेन समूह विजेताका रुपमा नकआउट चरणमा पुगेको छ । स्विडेनसँग पराजित भएपनि अघिल्ला दुई खेलको जितका कारण मेक्सिको समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुग्न सफल भएको छ ।
३ खेलपछि स्विडेन र मेक्सिको समान ६ अंक छ । गोलअन्तरमा स्विडेन शीर्षस्थान र मेक्सिको दोस्रो स्थानमा रह्यो । प्रतियोगिताबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक छ । जर्मनीले समूहको पुछारमा रहँदै विश्व कपको अन्त्य गरेको छ ।
दुवै खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा उच्च प्रदर्शन गर्दै स्विडेनले मेक्सिको माथि जित दर्ता गरेको थियो । लोडविग अगस्टिन्सनले ५० औं मिनेटमा गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए भने आन्द्रेस ग्रान्कभिस्टले ६२ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । एडसन अल्भारेजको आत्मघाती गोलमा स्विडेनको गोलअन्तर थ फराकिलो बनेको थियो ।
पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भएपछि साविक विजेता दबाबमा परेको थियो । तर, पछिल्लो खेलको अन्तिम समयमा गोल गर्दै स्वीडेनलाई २–१ ले हराउँदै जर्मनी विश्व कपमा फर्केको थियो । समूह चरणका अन्य खेलमा स्वीडेनले कोरियालाई १–० ले हराएको थियो भने मेक्सिकोले स्वीडनेलाई २–१ ले हराएको थियो ।