अबिरलको किर्तिमान ! २१ बर्षमै ‘के वन ग्राण्ड प्रिक्स सुपर फाईट’, त्यो पनि उपाधि बिजेतासँग”

टोकियो, जापान ।

जापानमा नेपाली झण्डा बोकेर आश लाग्दा खेलाडीको रुपमा व्यवसायिक किक बक्सिङमा उदाएका अबिरल घिमिरे विश्वचर्चित ‘के वन ग्राण्ड प्रिक्स’मा भिड्ने भएका छन् ।

हिमालयन चितुवाको नामले परिचित बनेका अबिरलको केवन ग्राण्ड प्रिक्स टुर्नामेन्टमा ब्राजिलियन च्याम्पियनसँग भिडन्त हुने भएको छ ।

अबिरल २१ बर्षको उमेरमै अन्तर्राष्ट्रिय स्तरको किक बक्सिङ टुर्नामेन्ट खेल्ने पहिलो नेपाली युवा खेलाडी बनेका छन् । हालसम्म अन्तराष्ट्रिय स्तरको के वन ग्राण्ड प्रिक्स भिडन्त नेपालका दुईजना खेलाडीले मात्र खेलेका छन् ।

जसमा पहिलो खेलाडी देव घिमिरे हुन् । देव घिमिरेले सन् २००४ मा के वन ग्राण्ड प्रिक्स भिडन्त गरेका थिए । यसमा रमाईलो कुरा के भने देव घिमिरे तिनै व्यक्ति हुन् जसले अबिरल घिमिरेलाई नियमित प्रशिक्षण दिंदै आएका छन् र उनि अबिरलका आफ्नै पिता समेत हुन् ।

देव घिमिरेपछि जापानमै नेपाली झण्डामुनि किक बक्सिङ खेल्दै आएका अर्का चर्चित खेलाडी मोहन महर्जनले के वन टुर्नामेन्ट खेलेका छन् । मोहन ड्रागनका रुपमा परिचित उनी किक बक्सिङका व्यवसायिक खेलाडी समेत हुन् ।

अबिरल घिमिरेको भिडन्त आगामी डिसेम्बर महिनाको १३ तारिख आईतबार राजधानी टोकियोमा हुने तय भएको छ । टोकियो र्योगोकु कोकुगिकानमा हुने अबिरलको पहिलो के वन किक बक्सिङ भिडन्तको प्रतिस्पर्धि बनेका छन् ब्राजिलियन बक्सर किमुरा फिलिप मिनोरु ।

यसअघि नै के वन ग्राण्ड प्रिक्सको टाईटल बेल्ट जितेका किमुरा जापानमा व्यवसायिक के वन किक बक्सिङ खेल्दै आएका खेलाडी हुन् ।

७० किलो तौल समुहमा हुने भिडन्तमा अबिरल लगातारको जीतसँगै जोस र नयाँ लक्ष्य सहित नेपाली झण्डा बोकेर मैदानमा उत्रंदा ब्राजिलियन बक्सर आफ्नो यसअघिको उपाधि रक्षामा हुनेछन् ।

गत सेप्टेम्बर १४ मा राजधानी टोकियोमै भएको ७० किलो तौल समुहको भिडन्तमा जापानका चर्चित किक बक्सिङ फाईटर थाचुयालाई हराउँदै सनसनी मच्चाएका अबिरलको लागि डिसेम्बर १३ तारिख अर्को किर्तिमानी ईतिहाँस रच्ने मौका बनेको छ ।

के वन ग्राण्ड प्रिक्सको विभिन्न चरण पार गरेर टाईटल भिडन्तमा पुग्न पाउने कठिन बाटो भएपनि आयोजकले अबिरलको यसअघिका उत्कृष्ठ खेल प्रदर्शनलाई मुल्यांकन गरेर के वन ग्राण्ड प्रिक्सको बेल्ट उपाधिमा छनौट गरेको जानकारी दिएको प्रशिक्षक देव घिमिरेले जापानसमाचारडटकमलाई दिएका छन् ।

के वन ग्राण्ड प्रिक्स टुर्नामेन्टको सुपर फाईट अन्तर्गत ७० किलो तौल समुहको भिडन्तमा छनौट भएसँगै अबिरल घिमिरेले आफुले उपाधि भिडन्तमा सक्दो प्रयास गर्ने प्रतिक्रिया दिएका छन् ।

अबिरलले भने ‘जसरी हिमालयमा हिम चितुवाले आफ्नो राज गर्छ त्यसैगरि म नेपालको तर्फबाट यो भिडन्तका नेपालको नाम राख्ने छु ।’

अबिरल घिमिरे जापान नागोयामा सपरिवार रहेर सिमुरा डोजोमा प्रशिक्षण लिंदै आएका छन् ।

स्मरणिय छ अबिरलले यसअघि खेलेका हिट ४७ व्यवसायिक किक बक्सिङ सहित ९ भिडन्तमा ८ वटामा जीत निकालेका छन् ।