आयोजक शिवम् न्यू डायमण्डलाई भलिबल उपाधि, प्रतिभा सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – आयोजक शिवम न्यू डायमण्ड एकेडेमीले शिवम् न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । विभागीय क्लब एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै न्यु डायमण्डले उपाधि जित्न सफल भएको हो । तीन दिनअघि सकिएको ढोरपाटन डबल लिग भलिबलको उपाधि विजेता एपिएफ आज उपाधि भिडन्तमा भने पराजित भएको थियो ।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा मंगलबार भएको रोमाञ्चक फाइनल खेलको पहिलो सेट २६–२४ ले गुमाएको डायमण्डले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । डायमण्डले दोस्रो, तेस्रो र चौथो क्रमशः २५–२३, २८–२६ र २५–२३ को सेटमा एपीएफ क्लबलाई पराजित गर्न सफल भयो ।

न्यु डायमण्डको जितमा प्रतिभा मालीले स्पाइकबाट ४४, सर्भिसबाट ५ र ब्लकबाट ३ अंक जोडिन् । त्यस्तै, कृपा अधिकारीले सर्भिसबाट ६ अंक जोडिन् । त्यस्तै, ललिता नाथले स्पाइकबाट १०, सर्भिस र ब्लकबाट समान १–१ अंक जोड्न सफल भईन् ।

एपीएफकी सरस्वती चौधरीले टिमका लागि उत्कृष्ट प्रदर्शन गदै स्पाइकबाट २१, सर्भिसबाट ३ र ब्लकबाट २ अंक प्राप्त गरिन् । एपीएफकै रेश्मा भण्डारीले स्पाइकबाट १२, ब्लकबाट १ र सर्भिसबाट १ अंक अंकको योगदान गर्दा नेमिका चौधरीले स्पाइकबाट ११, ब्लकबाट २ र सर्भिसबाट १ अंक अंकको योगदान गरेकी थिईन् ।

शिवम् सिमेन्ट मुख्य प्रायोजनमा संचालित प्रतियोगिताको उपाधि जितेको न्यु डायमण्डले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो । एपीएफले १ लाख १ हजार नगदसहित ट्रफि हात पारेको छ । मंगलबार नै तेस्रो स्थानको लागि भएको खेलमा आर्मीले पश्चिमाञ्चलको टप्स उच्च माविलाई २५–१६, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै तेस्रो भएको छ । आर्मीले ५१ हजार र चौथो भएको टप्सले २१ हजार रुपैयाँ प्राप्त गरे ।

आयोजक टोलीकी प्रतिभा माली प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् र उनले १० हजार रुपैयाँ प्राप्त गरिन्् । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, आर्मी संगम महत्तो उत्कृष्ट ब्लकर , न्यू डायमण्डकी ललिता नाथ उत्कृष्ट क्वीकर, पनामिका राई उत्कृष्ट ,सविना श्रेष्ठ उत्कृष्ट लिबेरो, कृपा अधिकारी उत्कृष्ट सेटर घोषित भइन् । आयोजक टोलीकै कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट सबैले जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।