उरुग्वे र फ्रान्स विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश, रोनाल्डो र मेस्सी दुवै बाहिरिए

काठमाडौं, असार १७ । उरुग्वे र फ्रान्स विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

नक आउट चरणको पहिलो खेलमा लेटिन अमेरिकी प्रतिद्वन्द्वी अर्जेन्टिनालाई ४-३ ले हराउँदै फ्रान्सले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलमा फ्रान्सका लागि किलियन एम्बाप्पेले दुई गोल गरे भने एन्टोनियो ग्रेजम्यान र बेन्जामिन पाभार्डले एक–एक गोल गरे ।

अर्जेन्टिनाका एन्जल डि मारिया, ग्याब्रिएल मेर्कादो र सर्जियो अगुएरोले एक एक गोल फर्काए ।

जितसँगै सन् १९९८ को विश्व विजेता फ्रान्सले क्वाटरफाइनलमा स्थान पक्का गर्दा दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिना राउन्ड अफ सिक्सटिनबाटै घर फर्किएको छ ।

यो हारले अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सीको विश्वकप जित्ने सपना पनि टुंगिएको छ । मेस्सीको टोली अघिल्लो विश्वकपको फाइनलमा जर्मनीसँग पराजित भएको थियो ।

गएराति भएको अर्को खेलमा उरुग्वेका एडिन्सन काभानीले दुई गोल गरेपछि पोर्चुगल २-१ ले पराजित भएको छ ।

पोर्चुगलका लागि पेपेले एक गोल गरेका थिए । खेलको सातौं मिनेटमै उरुग्वेले अग्रता लियो ।

लुईस सुवारेजको पासमा एडिन्सन काभानीले पहिलो गोल गरेका हुन् । दोस्रो हाफको ५५ औं मिनेटमा पोर्चुगलका डिफेन्डर पेपेले एक गोल फर्काउदै खेल बराबरी गरे ।

६२ औं मिनेटमा काभानीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे । जितसँगै उरुग्वेले ंफ्रान्स विरुद्धको क्वाटरफाईनल भिडन्त तय गरेको छ ।

उरुग्वे र फ्रान्सबीचको क्वाटरफाइनल खेल आगामी शुक्रबार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।