जर्मनीको रोमाञ्चक जीत

विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई २-१ ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे ।

स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा साविक विजेता जर्मनीले दुई गोल गर्दै आफ्नो विश्वकप अभियान जीवित राखेको हो ।

जर्मनीका लागि ४८ औं मिनेटमा मार्को रोयसले बराबरी गोल गरे भने इन्जुरी समयमा क्रुसले गोल गर्दै जर्मनीलाई ३ अंक दिलाए । हारेको अथवा बराबर भएको अवस्थामा जर्मनीलाई अन्तिम १६ पुग्न निकै कठिन हुने थियो ।

२ खेलबाट अहिले जर्मनीको ३ अंक रहेको छ भने स्वीडेनको पनि ३ अंक नै रहेको छ । मेक्सिकोको ६ अंक रहेको छ भने दक्षिण कोरिया अंक विहीन रहेको छ ।