नेपाल एपीएफ क्लबलाई पराजित गदै च्यासल युथ क्लब चन्द्रागिरी गोल्डकपको फाइनलमा

विदेशी खेलाडी अर्मान्डको दुई गोल सहयोगमा भ्याली च्यासल युथ क्लब राजधानीमा जारी दोस्रो संस्करणको रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ ।

चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा विभागीय नेपाल एपीएफ क्लबमाथि २–१ को कठिन जित निकाल्दै प्रतियोगिताको उपाधिनजिक पुगेको हो । अब च्यासलले उपाधिका लागि आइतबार सरस्वती युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । सरस्वतीले बिहीबार जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

च्यासललाई फाइनलमा पुर्याउन विदेशी खेलाडी अर्मान्डले दुवै गोल गरे । एपीएफका प्रदीप लामाले एक गोल फर्काए । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको २६औं मिनेटमा च्यासलले अर्मान्डको गोलबाट खेलमा अग्रता बनाएको थियो । कप्तान अमिर श्रेष्ठको चलाखीपुर्ण पासमा अर्मान्डले अफ साइड बिट ट्याप गर्दै हेडमार्फत पहिलो गोल गरेका थिए । तर, च्यासलको त्यो अग्रता लामो समय टिकेन ।

३३औं मिनेटमा प्रदीप लामाले बराबरी गोल फर्काए । सन्तोष श्रेष्ठको क्रसमा प्रदीपको पहिलो प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले रोकेपनि प्रदीपको दोस्रो प्रयास बाउन्स हुदै गोलमा परिणत भएको थियो । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएपनि दोस्रो हाफको अन्तिम समयमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–१ को जित दिलाउदै फाइनलमा स्थान बनाए । कप्तान अमिरको पासमा विपक्षी खेलाडीले अफ साइड भनेर छोडेको बललाई अर्मान्डले गोल गरेका थिए ।

त्यसअघि खेलको पहिलो मिनेटमा नै सन्तोष श्रेष्ठको पासमा प्रदीपको प्रहार बाहिरियो । १५औं मिनेटमा नियाले विपक्षी डिफेन्डरबाट बल खोस्दै दिएको पासलाई अर्मान्डले फितलो प्रहार गरे । २८औं मिनेटमा आशिष लामाको पासमा प्रदीप लामाको हेडर पोस्टबाट थोरै बाहिरियो । ३८औं मिनेटमा निशान खड्काको प्रहार बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा अर्मान्डले मैदानको मध्यभागबाट एक्लै लगेको बललाई फिनिस गर्न सकेन ।

४६औं मिनेटमा रमेश दंगालको २५ यार्ड टाढाको शक्तिशाली प्रहार पोस्टमा लागेर फर्किएको बललाई आशिष लामाको हेडरलाई गोलरक्षक दिनेश थापामगरले मुस्किलले पञ्च गरेर बचाए । प्रतिस्पर्धात्मक बनेको दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौकाहरु खेल फालेको थियो ।

च्यासलका डिफेन्डर छिरिङ गुरुङ खेलको म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए । प्रतियोगिताको फाइनल खेल आइतबार ३ बजे नैकापस्थित नैकाप फुटबल मैदानमा हुनेछ ।
प्रतियोगिता अन्तर्गत शनिबार दीपशिखा युवा समूहको महिला फुटबल टोली र प्रदेश ३ को महिला फुटबल टोलीबीच मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ । खेल ३ बजेपछि हुनेछ ।

वैशाख १५ देखि सुरु भएको प्रतियोगितामा आयोजक दीपशिखा युवा समुहसहित विभिन्न ८ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् ।