नेपाल विश्वकप छनोटमा, रोमाञ्चक जितमा करनको चमत्कारी ब्याटिङ्ग

आइसीसी विश्व क्रिकेट लिग डिभिजन-२ प्रतियोगिताको खेलमा नेपालले क्यानाडालाई रोमाञ्चक ढंगले पराजित गरेको छ । यस जितसँगै नेपालको २०१९ विश्वकप खेल्ने सम्भावना पनि जीवित रहेको छ । १ सय ९५ रनको लक्ष्य पछ्याएको नेपालले अन्तिम बलमा १ विकेटको शानदार जित दर्ता गर्‍यो ।

नेपालको टप अर्डर आज पनि चल्न सकेन । दिलिप नाथले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानले महत्त्वपूर्ण योग्दान दिन सकेनन् । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट भए भने पारस खड्का खातै नखोली पभेलियन फर्के । शरद भेषवाकर पनि १ रनमा आउट भएका थिए । दीपेन्द्र ऐरीले भने १८ रनको योग्दान दिए ।

केन्याविरुद्ध महत्त्वपूर्ण साझेदारी गरेका आरिफ शेख र रोहित पौडेल आज पनि लयमा देखिए । रोहित २७ रनमा र आरिफ २६ रनमा आउट भएका थिए । तर दशौं नम्बरमा आएका करन केसीको चमत्कारी ब्याटिङमा नेपाल विजयी भयो ।करनले ४२ रन बनाउँदा अन्तिम विकेटका लागि सन्दिप लामिछानेले उनको राम्रो साथ दिएका थिए ।

यसअघि टस जितेर पहिले बलिङ रोजेको नेपालले क्यानाडालाई ८ विकेटको क्षतिमा १ सय ९४ रनमै सीमित पारेको थियो । क्यानाडाका लागि ओपनर श्रीमन्थ विजेरत्नेले १ सय ३ रनको शानदार पारी खेले । उच्च लयमा रहेका रुभिन्दु गुनसेकरा र कप्तान नितिश कुमार पनि आज सस्तैमा आउट भएका थिए ।

आज नेपालका लागि बलिङमा नायक वसन्त रेग्मी रहे । उनले महत्त्वपूर्ण समयहरुमा ३ विकेट लिएका थिए । त्यस्तै आज सन्दिप लामिछानेलाई भने घुंडाको चोटले सतायो । चोटिल हुनु अघि ५ ओभरमा ७ रन खर्चेका सन्दिपले चोटपछि मैदान फर्किँदा केही महँगो सावित भए । करन केसी र शरद भेषवाकरले पनि एकएक विकेट लिएका थिए ।

अब नेपालसहित युएई र नामिबिया मध्ये एक टोलीले मार्चमा जिम्बावेमा हुने विश्व कप छनोटमा भाग लिने छ । विश्वकप छनोटको अन्य टोलीहरुमा वेष्ट इन्डिज, अफगानिस्तान, आयरल्यान्ड, जिम्बावे, नेदरल्यान्ड्स, स्कटल्यान्ड, हङकङ र पपुवा न्यु गिनी रहेका छन् । यी १० टोलीमध्ये शीर्ष दुई टोली २०१९ विश्वकपमा छनोट हुने छन् ।