न्यू डायमण्डको विजयी सुरुवात

शिवम् न्यू डायमण्ड एकेडेमीले चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा न्यू डायमण्डले पद्मोदय युथ क्लब चितवनलाई पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको खेलमा महिलातर्फ न्यू डायमण्डले पद्मदयलाई २५–१४, २५–१२ र २५–१८ को सोझो सेटमा पराजित गर्न सफल भयो । त्यस्तै, महिलातर्फकै अर्को खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले जावलाखेल टे«ेनिङ सेन्टरलाई २५–११, २५–१० र २५–१२ को सोझो सेटमा पराजित गर्न सफल भयो । यसअघि आइतबार भएको खेलमा पुलिस एपीएफसँग पराजित भएको थियो ।

पुरुषतर्फ सोमबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले नयाँ बजार सामाजिक क्लबलाई २५–६, २५–९ र २५–१४ को सेटमा पराजित गरेको छ ।

पुरुषतर्फकै अर्को खेलमा भने हेल्प नेपाल स्पोर्ट्स क्लबले कठिन जित हात पारेको छ । हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लब रुपन्देहीलाई २५–१८, २३–२५, २५–२१ र ३४–३२ को सेटमा पराजित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ । पुरुषतर्फ ११ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको महिला तथा पुरुष विजेताले १ लाख ५० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेताले १ लाख तथा तेस्रो हुनेले ६० हजार पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा दुवै विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले समान १५–१५ हजार पाउनेछन् । यस्तै उत्कृष्ट ब्लकर, लिफ्टर, स्पाइकर, लिब्रो, सर्भर र प्रशिक्षकले समान ५–५ हजार पाउने छन् ।