बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड पराजय

सेन्ट पिटर्सबर्ग (एजेन्सी) – रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे ।

खेलको चौथो मिनेटमा बेल्जियमले अग्रता लिन सफल भएको हो । नसिर चाड्लीको क्रसमा थोमस म्युनियरले गोल गर्दै स्कोर १-० पारेका थिए । दोस्रो हाफमा पनि बेल्जियमले १ गोल गर्न सफल भएको हो । काउन्टर-अट्याकमा केभिन डे ब्रुयनको पासमा हाजार्डले गोल गर्दै टोलीको जित तथा तेस्रो स्थान सुनिश्चित गरेका हुन् ।

बेल्जियमका लागि रोमेलु लुकाकुले गोल गर्ने दुई राम्रा अवसर गुमाएका थिए भने इंग्ल्यान्डका लागि ह्यारी केनको प्रहार पोस्टको नजिकैबाट बाहिरिएको थियो । इंग्ल्यान्डका एरिक डायरको प्रहार बेल्जियमका टोबी एल्डरवेरल्डले गोल-लाइनबाट बचाऊ पनि गरेका थिए ।

सेमिफाइनलमा बेल्जियम फ्रान्ससंग १-० ले पराजित भएको थियो भने इंग्ल्यान्ड क्रोएसियासंग अतिरिक्त समयमा २-१ ले पराजित हुन पुगेको थियो । दुवै टोलीले समूह ‘जी’ को अन्तिम खेलमा भिडेका थिए जसमा बेल्जियम १-० ले जित हात पारेको थियो ।

प्रतियोगितामा ६ गोल गरेका इंग्ल्यान्डका कप्तान ह्यारी केनको गोल्डेन बुट जित्ने पक्का जस्तै भएको छ । अब भोलि विश्वकपको फाइनलमा क्रोएसिया र फ्रान्स भिड्ने छन् ।