Home खेलकुद युएईसँग नेपाल ७ विकेटले पराजित

युएईसँग नेपाल ७ विकेटले पराजित

0
युएईसँग नेपाल ७ विकेटले पराजित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको सातौं चरणको खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ । युएईस्थित शेख जायद स्टेडियममा बुधबार भएको खेलमा नेपाल ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको २ सय २२ रनको लक्ष्य युएर्इले ४५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । युएर्इका लागि घुलाम सब्बिरले अविजित ८१ रनको योगदान गरे । १ सय १६ बलको सामना गरेका सब्बिरले ८ चौका हिर्काए ।

यस्तै ओपनर तथा कप्तान रोहन मुस्ताफाले ६२ रनको योगदान दिए । उनले ७१ बलमा ७ चौका र एक छक्का प्रहार गरे । मोहम्मद उस्मान १७ रनमा अविजित रहे । रामिद शाहाजादलाई सन्दीप लामिछानेले कट एण्ड बोल्ड गरेका थिए । अस्फाक अहमेद १९ रनमा आउट भए । नेपालका लागि शरद भेषवाकर र सन्दीप लामिछानेले समान १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले मध्यपक्तिका भरपर्दा ब्याट्सम्यान शरद भेषावकर र उपकप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा २ सय २१ रनको मध्यम रन बनाएको थियो ।

नेपालका लागि ओपनर समेत रहेका ज्ञानेन्द्रले ५४ र शरदले अविजित ८१ रन बनाएपछि नेपालले युएईविरुद्ध सम्मानजनक स्कोर बनाएको हो । ९५ बल खेलेका शरदले ५ चौकाको मद्दतमा ८१ रनको महत्वपूर्ण योगदान गरेका थिए । ८३ बल खेलेका ज्ञानेन्द्रले ५ चौका प्रहार गरे ।

अर्का ओपनर दीलिप नाथले १६ रन बनाए भने कप्तान पारस खडेकाले २० रन जोडे । पारसले ३६ बल खेल्दै ४ चौका प्रहार गरे । सोमपाल कामीले २० रन बनाए भने आरिफ शेख रनको खाता नखोल्दै रन आउट भएका थिए । विनोद भण्डारीले ४ रन जोडे । युएईका लागि जोहार खानले २, मोहम्मद नाभिद, अहमद राजा र रोशन मुस्ताफाले समान १ विकेट लिए ।

नेपाल र युएई यसअघि नै डिभिजन २ मा घटुवा भइसकेका छन् । अब विश्व कपमा छनोट हुने नेपालको सम्भावनाका लागि एउटा मात्र विकल्प रहेको छ । जसका लागि नेपालले फेब्रुअरीमा डिभिजन २ खेल्नेछ । च्याम्पियनसिपको शीर्ष चारमा रहने टोलीले विश्वकप छनोट खेल्न पाउनेछन् ।

तर, नेपाल अबका दुई खेल जित्दा पनि शीर्ष ४ मा पर्ने छैन । यसअघिको खेलमा हङकङसँग पराजित भएपछि नेपाल डिभिजन २ मा घटुवा भएको थियो । गत साता युएई पुगेको नेपाली टोलीले अमेरिका र केन्यासँग अभ्यास खेल खेलेको थियो । अभ्यास खेलमा अमेरिकासँग पराजित भएको नेपालले अर्को खेलमा केन्यालाई हराएको थियो ।