लेभान्तेले बार्सिलोनालाई ५-४ ले हरायो

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार लेभान्तेले बार्सिलोनालाई ५-४ ले पराजित गरेको छ । लिगको इतिहासमा अपराजित रहँदै लिग जित्ने कीर्तिमान रच्ने सुरमा रहेको बार्सिलोनाको प्रयास पनि समाप्त भएको छ ।

घरेलु टोली लेभान्तेले नवौं मिनेटमा एम्यानुएल बोटेङको गोलमा अग्रता लिएको थियो । बोटेङले अाधा घण्टा नबित्दै अग्रता दोब्बर पारे ‌। फिलिप कोउटिन्होले बार्सिलोनाको लागि पहिलो हाफको अन्तिममा गोल गर्दै खेलमा फर्कने संकेत देखाए ।

तर दोस्रो हाफको पहिलो मिनेटमा एनिस बार्ढिले दुई गोलको अग्रता कायम गरे ‌। तीन मिनेटपछि बोटेङले ह्याट्रिक पुरा गर्दै लेभान्तेलाई ४-१ ले अघि राखे । ५६ हौं मिनेटमा बार्ढिकै गोलमा लेभान्तेले ५-१ को अग्रता बनायो ।

त्यसपछि कोउटिन्होले ५९ अौं र ६४ अौं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । लुइस सुअारेजले ७१ अौं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अन्तर १ गोलमा झारे । तर थप गोल गर्न नसक्दा बार्सिलोना लिगको पहिलो हार बेहोर्न बाध्य भयो । लियोनेल मेस्सीलाई विश्राम दिने प्रशिक्षकको निर्णय भारी परेको हो ।