चन्द्रागिरि नगरपालिकाले न्यु डायमण्ड महिला भलिबल टोलीलाई प्रायोजन गर्ने

काठमाडौं ।
चन्द्रागिरि नगरपालिकाले न्यु डायमण्ड महिला भलिबल टोलीलाई प्रायोजन गर्ने भएको छ ।

चन्द्रागिरि नगरपालिका कार्यपालिकाको बैठकको निर्णय अनुसार यस आ. व. ८०÷८१ मा न्यु डायमण्ड महिला भलिबल टोलीले सम्पूर्ण जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरको प्रतियोगितामा ‘चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम’ को नाम सहित सहभागिता जनाउने र उक्त प्रतियोगितामा खेलाडीहरुको लागि आवस्यक खेलकुद सामग्री र अन्य सम्पूर्ण ब्यबस्थापन चन्द्रागिरि नगरपालिकाले गर्नेछ ।

निरन्तर रुपमा राष्ट्रिय महिला भलिबल खेलाडी उत्पादन गर्न सफल चन्द्रागिरि वडा नं १३ मा अवस्थित न्यु डायमण्ड स्पोर्ट्सले भर्खरै हेटौडामा सम्पन्न केशवलाल स्मृति कप महिला भलिवल प्रतियोगिता २०८० मा उप विजेता हुन सफल भएको थियो ।

उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुलाई नगरपालिकामा एक कार्यक्रमका बीच सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख घनश्याम गिरी, उप प्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, सामाजिक विकास समिति संयोजक घनश्याम लुइटेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख तथा अन्य कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा क्लबको तर्फबाट मुख्य प्रशिक्षक कुमार राई, सहायक प्रशिक्षक दिनेश श्रेष्ठ तथा ब्यबस्थापक किरण कार्कीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुखले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गरिरहेको उक्त टोलीलाई नगरपालिकाले आउँदा आर्थिक वर्षहरुमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्दै नगरपालिकाको अन्य वडा तथा विधालयहरुमा पनि उक्त क्लबको संयोजनमा महिला भलिबलको प्रशिक्षण शुरु गराउने बताए ।
अन्य खेलकुद विधामा पनि नगरपालिकाले विशेष चासो राखी नगरपालिकाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिकाले विषेश पहल गर्ने कुरा पनि नगर प्रमुखले बताए ।