टाइगर कप भलिबल उपाधिमा चन्द्रागिरि न्यु डायमण्ड उप विजेता

काठमाडौं (हाम्रो खेलकुद/ सुबास हुमागाईं)– एपिएफले टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको‌ उपाधिमा ह्याट्रिक गरेको छ ।

चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमलाई शनिबार फाइनलमा ३-० ले हराउँदै एपिएफले लगातार तेस्रो पटक उपाधि जितेको हो । पोखरा रंगशालाको भलिबल कोर्टमा एपिएफले २५-२०,२५-१८,२५-२१ ले खेल जितेको हो।

अघिल्ला ३ संस्करणमा एपिएफले दोस्रो र तेस्रोमा उपाधि जितेको थियो । पहिलो संस्करण अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको थियो । प्रतिभा मालीको कप्तानीमा रहेको न्यु डायमण्ड भने पहिलो पटक फाइनल खेलको हो । महिलातर्फ त्रिभुवन आर्मी क्लब र पुरुषतर्फ एपिएफ तेस्रो भएको थियो ।

आजै हुने पुरुषतर्फको फाइनलमा साविक विजेता गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि रक्षाको क्रममा रहेको गण्डकीमा यसपटक ३ भारतीय खेलाडी सम्मिलित छन् ।

पहिलो र तेस्रो संस्करणको च्याम्पियन गण्डकीले सेमिफाइनलमा एपिएफलाई हराएको थियो । दोस्रो संस्कणको उपाधि आर्मी क्लबले जितेको थियो । दोस्रो संस्करणको फाइनल खेलेको हेल्प नेपालले श्रीलंका आर्मीलाई हराउँदै यसपटक फाइनल पुगेको थियो ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको महिला र पुरुष दुवै तर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, दोस्रो हुनेले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।