यूईएफए सुपर कपको उपाधि चेल्सीलाई

चेल्सीले यूईएफए सुपर कपको उपाधि हात पारेको छ । इङ्लिस क्लब चेल्सीले युइएफए सुपरकप फाइनलमा स्पेनिस क्लब भिल्ला रियललाई पराजित गर्दै उपाधी हासिल गरेको छ ।

नर्थन आयरल्याण्डको विन्डसोर पार्कमा आज बिहान सम्पन्न फाइनल खेलमा चेल्सीले टाइब्रेकरमा भिल्ला रियललाई पाँचका विरुद्ध छ गोलले पराजित गरेको हो ।

पहिलो हाफमा १-० गोलले पछाडी परेको भिल्ला रियलले दोस्रो हाफको ७३औं मिनेटमा भिल्ला रियलका जर्राड मोरेनोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निर्धारित ९० मिनेटको खेल र त्यसपछिको अतिरिक्त समयको खेल पनि १-१ गोलको बराबरीमा टुङ्गिएपछि फाइनल खेल टाइब्रेकरमा पुगेको थियो ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि चेल्सी च्याम्पियन बनेको हो ।टाइब्रेकरमा चेल्सीले ६-५ गोलको अन्तरले भिल्ला रियललाई पछि पार्दै युइएफए सुपरकपको ४६औं संस्करणको विजेता बनेको हो ।