प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न

773

थानकोट ।

प्रथम मातातीर्थ गोल्डकप अन्तर्गत पहिलो चरणका खेलहरू सम्पन्न भएका छन् ।

शुक्रबार सम्पन्न पहिलो खेलमा विजयपुर युथ क्लब र गोर्खाली युवा क्लब बीचको खेल निर्धारित समयमा १-१ गोलमा सकिएपछि विजेता टोलीको छिनोफानो पेनाल्टी सुट आउटमा गरिएको थियो । पेनाल्टी सुट आउटमा गोर्खाली युवा क्लब ५-४ ले विजयी हुँदै प्रतियोगिताको अन्तिम १२ का लागि छनोट भयो ।

यसअघि खेलको पहिलो हाफको १९ औं मिनेटमा राजिव महर्जनको गोलमा अग्रता लिएको विजयपुर खेलको अन्तिम समयमा सम्हालिन नसक्दा खेल बराबरीमा सकियो । पहिलो हाफको २१ औं विजयपुरका गोलरक्षक रातो कार्ड पाउँदै बाहिरिएका थिए । अतिरिक्त समयमा विक्की महर्जनले गोर्खाली युथका लागि पेनाल्टी मार्फत गोल गरेका थिए । उनी फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिए ।

त्यस्तै, शुक्रबार नै सम्पन्न दोश्रो तथा पहिलो चरणको अन्तिम खेलमा फार भिजन युथ क्लब पेनाल्टी सुट आउटमै विजयी भयो । समतामुलक युवा क्लब र फार भीजन बीचको खेल निर्धारित समयमा गोलरहित सकिँदा खेल सडेन डेथमा धकेलिएको थियो ।

सडेन डेथमा फार भीजन ६-५ ले विजयी भयो । फार भीजनका सुजित मगर फोटो म्युजियम नेपाल प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत दोश्रो चरणका खेलहरू शनिबारबाट सुरू हुने बताइएको छ । २४ टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोश्रो चरणका खेलका लागि १२ टोली चयन भएका छन् ।

थानकोट टाइम्स