नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

काठमाण्डौ ,साउन १९।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। आज समाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन्।

‘सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरु साथी खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मी, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहने छु,’ विज्ञप्तिमा खड्काले लेखेका छन्, ‘क्रिकेटरका रुपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैब आफ्नो भूमिका निर्वाह गरेँ।’

उनले लेखेका छन् ,” मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो।तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ। इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउने छौं।”

‘अन्तर्राष्ट्रिट क्रिकेटरका रुपमा मेरो यात्रा टुंगिएको छ। तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दैछन्,’ खड्कालले सन्यासको घोषणा गर्दै लेखेका छन्, ‘मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौं भन्ने विश्वास लिएको छु। धन्यवाद!’