फिफा विश्वकप २०२२ को फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन् । गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो ।

साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो । अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो ।

फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुनेछ । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई-दुई पटक विश्वकपको उपाधि हात पारिसकेका छन् ।

यसैबीच गएराती भएको फिफा विश्वकपमा क्रोएसियाले तेस्रो स्थान हासिल गरेको छ । कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियाले मोरक्कोलाई २-१ गोलअन्तरले हराउदै विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो ।

क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लियो । जोस्को भार्डिओलले हेडरमार्फत गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर खेलको नवौ मिनेटमा मोरक्कोका अक्रफ दारीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।

खेलको ४२औं मिनेटमा क्रोएसियाका लागि मिस्लाभ ओर्सिचले गोल गर्दै फेरि अग्रता दिलाए । जुन गोल नै क्रोएसियाको जितका लागि निर्णयक बन्यो । उनले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । हारसँगै मोरक्को विश्वकपको चौथो स्थानमा रह्यो ।