आइएसएफ यू–१५ जिम्न्यासाइडको बक्सिङमा प्रकृति र शेरपलाई कांस्य

ब्राजिलको रियो दि जेनेरियोमा सुरु भएको ‘दोस्रो आइएसएफ जिम्न्यासाइड–२०२३’ नेपालले बक्सिङबाट दुई कांश्य पदक जितेको छ ।

रियो दि जेनेरियोको ओलम्पिक पार्कमा सोमबार सम्पन्न खेलमा प्रकृति थापाले ५१ केजी तौल समुहमा तथा शेरप ग्याल्चेन शेर्पाले ६० केजी तौल समुहमा कांश्य पदक जित्नुभएको हो । दुबै खेलाडी क्वार्टरफाइनलमा बाई पाएर सिधै सेमिफाइनलमा पुग्नुभएको थियो । सेमिफाइनलमा शेरपले आयोजक ब्राजिली प्रतिद्वन्द्वीसँग कडा प्रतिस्पर्धा गरेपनि जित निकाल्न सक्नुभएन ।

गतवर्ष काठमाडौंमा भएको अल नेपाल स्कुल ब्वाइज बक्सिङ प्रतियोगितामा स्वर्ण जितेका शेरपबाट स्वर्ण पदकको आशा गरिएको थियो । उहाँका प्रशिक्षक प्रकाश थापामगरले शेरप भविष्यमा नेपालको राम्रो खेलाडी बन्न सक्ने प्रतिक्रिया दिनुभयो । यस्तै प्रकृति सेमिफाइनलमा क्रोयसियाका खेलाडीसँग ‘आरएससी’ मा आउट हुनुभयो । पहिलो राउन्डमा दुई पटक ‘काउन्ट’ खाएपछि उहाँले दोस्रो राउन्ड खेल्न पाउनुभएन ।

यसैगरी बास्केटबलतर्फ महिला ३ अन ३ मा चिलीसँग पराजित भएपछि नेपाल बाहिरिएको छ । पौडीतर्फ ५० मिटर ब्रेस्ट स्ट्रोकमा सहभागि नेपालका सुगम श्रेष्ठले पनि पदक जित्न सक्नुभएन । प्रतियोगितामा समावेश गरिएको १८ खेलमध्ये नेपालले बक्सिङ, पौडी , तेक्वान्दो, टेबल टेनिस र बास्केटबल गरी पाँच खेलमा सहभागिता जनाएको छ ।

अन्तर्राष्ट्रिय स्कुल स्पोर्टस महासंघ (आइसी) को आयोजनामा हरेक दुई वर्षमा हुने जिम्न्यासाइड यो वर्ष अगस्ट १७ देखि २५ तारिख सम्म हुदैछ । यो १३ देखि १५ वर्ष उमेर समुहको (मिनी ओलम्पिक) प्रतियोगिता हो । प्रतियोगितामा ४४ राष्ट्रबाट दुई हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।