एटलेटिकोले नैकापमा एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने

  • 238
    Shares

काठमाडौं– स्पेनिस क्लब एटलेटिको म्याड्रिडले नैकापस्थित निर्माणाधीन फुटबल मैदान बनाउन सहयोग गर्ने भएको छ । शुक्रबार राजधानीमा आयोजित एटलेटिको म्याड्रिड फाउन्डेसन र बीबी फाउन्डेसनमार्फत वेस्ट काठमाडौं फुटबल क्लबबीच भएको सम्झौता अनुसार एटलेटिकोले एस्ट्रो टर्फ मैदान बनाउन सहयोग गर्ने भएको हो ।

एटलेटिकोले नेपालको फुटबल विकासमा तल्लो तहदेखि नै लाग्ने लक्ष्यसहित चन्द्रागिरी नगरपालिका-१४ को वेस्ट काठमाडौं फुटबल क्लबसँग शुक्रबार सम्झौता गरेको छ । गैरआवासीय नेपाली (एनआरएन) का अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बीबी फाउन्डेसनको सहयोगमा सम्झौता भएको हो । यस सम्झौताअनुसार एटलेटिको म्याड्रिडले पहिलो वर्ष वेस्ट काठमाडौंका ८० खेलाडीलाई प्रशिक्षण तथा खानपिनको व्यवस्था गर्नेछ । यसका लागि आवश्यक खेल सामग्री पनि एटलेटिकोले प्रदान गर्नेछ ।

सम्झौतामा उल्लेख भए अनुसार एटलेटिकोले स्पेनबाट प्रशिक्षक ल्याएर नेपालमा प्रशिक्षण दिने, नेपाली प्रशिक्षकलाई स्पेन लगेर कोर्ष गराउने तथा यहाँका उत्कृष्ट खेलाडीलाई एटलेटिको म्याड्रिडको एकेडेमीमा प्रशिक्षणको व्यवस्था मिलाउनेसम्मका कार्यक्रम रहेका छन् । एटलेटिकोका अन्तर्राष्ट्रिय एकेडेमी विकास निर्देशक फर्नान्डो लोबेटेले नैकापस्थित खेलमैदान स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडी चाल्ने बताए । उनले उक्त मैदानलाई एस्ट्रो टर्फ हालेर स्तरोन्नति गर्ने लक्ष्य रहेको पनि बताए ।

लोबेटेले एटलेटिको र वेस्ट काठमाडौंको सहकार्य लामोसमयसम्म चल्ने बताए । ‘ हामी धेरै ठाउँमा हात हालेर कम काम गर्ने हैनौं । बिरलै कुनै कार्यमा लाग्छौं र लागेपछि त्यसको प्रतिफल पाएपछि मात्र खुसी हुन्छौं । हामीले यस कार्यक्रमलाई निकै गम्भीरता पूर्वक ढंगले लिएका छौं । नेपाली पक्षबाट पनि निकै राम्रो साथ पाइरहेका छौं,’ उनले भने ।

कार्यक्रममा एनआरएनका अध्यक्ष भट्टले यस कार्यक्रमले नेपाली फुटबल विकासमा आमुल परिवर्तन ल्याउन सक्ने बताए । उनले यस्ता अवसर सिर्जना गर्न एनआरएन सधैं सकारात्मक रहेको बताए ।हाम्रो खेलकुद


  • 238
    Shares

Comments

comments