नेपालले बङ्गलादेशलाई हरायो

काठमाडौं, असार ३१ गते । बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिईएको हो । यसअघि बिहीबार भएको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गर्नुभयो । अञ्जना रानामगरको प्रहार बारमा लाग्दै बाहिरिएको थियो।

बङ्गलादेशकी साम्सुनार र मोनिका चक्माले मात्र गोल गर्न सक्नुभयो । मारिया मण्डा र सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाउनुभएको थियो । पहिलो खेलमा नेपालका लागि सावित्रा भण्डारीले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीको हार टार्नु भएको थियो ।

नेपालले चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीका लागि बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले यसअघि बङ्गलादेशसँग गत वर्ष काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थियो । त्यतिवेला नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।