बिहीवार नेपालले युएईसँग जिते, हारे वा बराबरी खेले के हुन्छ?

नेपाली राष्ट्रिय क्रिकेट टोली एउटा महत्त्वपूर्ण उपलब्धि प्राप्त गर्नबाट एक कदम मात्रै पर छ। बिहीवार हुने यूएई विरुद्धको खेल जितेमा नेपाल विश्वकप लिग-२ को तेस्रो स्थानमा उक्लिनेछ।

र, तीन महिनापछि जिम्बाब्वेमा हुने ‘विश्वकपको ग्लोबल क्वालिफायर’ मा सिधै छनोट हुनेछ।

क्वालिफायरमा छानिनुको अर्थ टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पाउनु हो।

पाँच वर्ष अगाडि एकदिवसीय मान्यता पाए यता नेपाल पहिलोपटक ठूलो ‘मञ्च’मा खेल्ने अवसर नजिक पुग्न लागेको हो।

एक महिना अगाडिसम्म ‘एकदिवसीय अन्तर्राष्ट्रिय’ राष्ट्रको मान्यता जोगाउन समेत अत्यन्त मुस्किल अवस्थामा रहेको नेपाल अहिले शीर्ष तीन स्थानमा उक्लिएर विश्वकप क्वालिफायरमा छनोट हुने बलियो स्थितिमा पुग्नु सानो विषय होइन।

तर यदि युएईसँग पराजय भोगे नेपालको यो अवसर गुम्नेछ र टोलीले एसोसियट राष्ट्रहरू सम्मिलित प्ले अफ क्वालिफायरमा खेल्नुपर्नेछ।

उक्त प्ले अफको शीर्ष दुईमा पुग्न सकेमा पनि नेपाल क्वालिफायरमा फेरि खेल्न पाउनेछ।

अर्थात् ‘प्ले अफ’ क्वालिफायरमा पुग्ने अर्को घुमाउरो अवसर हो।

क्वालिफायर के हो ?

क्वालिफायर भारतमा आगामी वर्ष हुने विश्वकपमा पुग्ने अन्तिम ढोका हो। क्वालिफायरमा १० राष्ट्रबीच प्रतिस्पर्धा हुनेछ र त्यसबाट शीर्ष २ टोलीले विश्वकप खेल्ने अवसर पाउनेछ।

१० राष्ट्रहरू विभिन्न तीन वटा माध्यमबाट छनोट हुनेछन्। ती हुन् ‘सुपर लिग’ को पुछारमा रहेको पाँच राष्ट्र, विश्वकप लिग-२ को शीर्ष तीन राष्ट्र र प्ले अफका शीर्ष दुई राष्ट्र।

सुपर लिग भनेको आइसीसीको पूर्ण सदस्य रहेको टेस्ट खेल्ने १२ राष्ट्र र नेदरल्यान्ड्स सम्मिलित प्रतियोगिता हो। नेदरल्यान्ड्सले आइसीसी क्रिकेट विश्वकप लिग च्याम्पियनसिप जितेको आधारमा सुपर लिग खेल्ने अवसर पाएको हो।

यी १३ मध्ये आठ राष्ट्र सिधै विश्वकपमा छनोट हुनेछन् भने पुछारमा रहेको पाँच टोली क्वालिफायरमा झर्नेछन्।

आयोजक राष्ट्रको नाताले भारत स्वतः विश्वकपमा छानिएको छ भने अफगानिस्तान, अस्ट्रेलिया, बाङ्गलादेश, इङल्याण्ड, न्युजिल्यान्ड र पाकिस्तान गरी ७ राष्ट्रहरू आवश्यक अङ्कका साथ विश्वकपमा पुगिसकेका छन्।

यो समूहबाट अब एउटा राष्ट्र मात्रै विश्वकपमा छनोट हुन बाँकी छ। त्यसमा श्रीलङ्का, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र आयरल्यान्डबीच प्रतिस्पर्धा चलिरहेको छ।

यी चार मध्ये एक टोली विश्वकपमा पुग्दा बाँकी तीन टोली क्वालिफायरमा झर्नेछ। १२औँ र १३औँ स्थानमा रहेर आयोजक जिम्बाब्वे र नेदरल्यान्ड्स पहिले नै क्वालिफायरमा झरिसकेका छन्।

यसरी सुपर लिगका पुछारमा रहेका पाँच राष्ट्रले क्वालिफायर खेल्नेछन्।