रोनाल्डो पाँच विश्वकपमा गोल गर्ने पहिलो खेलाडी

सुबास हुमागाईं, कतार

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो फिफा विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । विहीबार समूह जी को खेलमा घानाविरुद्ध पेनाल्टीमा गोल गर्दै रोनाल्डोले दुर्लभ उपलब्धि हासिल गरेका हुन् ।

रोनाल्डोले घानाविरुद्ध विश्वकपको आठौं गोल गरे । उनले १८ औं खेल खेल्ने क्रममा ६४ औं मिनेटमा घानाविरुद्ध सुरुवाती अग्रता पनि दिलाए । हालसम्म ५ विश्वकप खेलेका रोनाल्डोले सबै गोल भने समूह चरणमा गरेका छन् ।

रोनाल्डोले सन् २००६ विश्वकपमा इरानविरुद्ध गोल गर्दै खाता खोलेका थिए । त्यसपछि सन् २०१० मा उनले उत्तर कोरियाविरुद्ध गोल गरेका थिए । सन् २०१४ मा घानाविरुद्ध नै गोल गर्दै रोनाल्डोले लगातार तीन विश्वकपमा गोल गरे ।

सन् २०१८ मा भने रोनाल्डोले ह्याट्रिकसहित ४ गोल गरे । उनले स्पेनविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए । त्यसपछि मोरक्कोविरुद्ध पनि उनले गोल थपेका थिए ।