हिमचितुवाले उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

काठमाण्डाै – ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले जितेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने याे अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् । जापानको नायोगा शहरकाे नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हलमा आज आइतवार सम्पन्न ४९ औँ सस्करणको याे प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यावसायिक किक बक्सर फुजीमुरालाई हराएका हुन् । उनीहरू दुवै ‘के वान के बक्सिङ प्रतिस्पर्धामा’ मा खेलिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ ले विश्व प्रसिद्ध अविरलले याे प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जालमार्फत जितका लागि आफ्ना पिता अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवम् प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमीलाई धन्यवाद दिएका छन् ।

जापानको चर्चित सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले यही डोजोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् । प्रशिक्षक देवका अनुसार नेपाली खेलाडी ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनशिप २०२१’ प्रतियोगितमा छनाेट हुनु आफैँमा प्रतिष्ठाको विषय हो । उनका अनुसार खेलाडी अविरलले गएकाे चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिबल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने माैका पाएका थिए । उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउन्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए । यसैगरी उनले गएकाे वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजीमाथि सहज जित हात पारेका थिए ।

यस्तो छ अविरलको खेल यात्रा

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरलले प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तर्राष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालको तर्फबाट कम उमेरमा याे प्रतियोगितामा भाग लिने पहिलो ‘बक्सर’ समेत भएका थिए । एक्काइस वर्षीय उनले बाज्रिलियन खेलाडी फिलिपसँग याे प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो । चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारा निवासी उनी विगत पाँच वर्षदेखि जापानको नागोया सहरमा बस्दै आएका छन् ।

पछिल्लो समय उनले कम उमेरमा अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा खेल्ने पहिलो नेपाली युवा बन्ने सौभाग्यसमेत पाएका छन् । ‘हिट ४९ प्रोफेसनल हिट बक्सिङ च्याम्पियनशिप २०२१’ लाई जापानसहित अन्तर्राष्ट्रिय खेल क्षेत्रले उच्च महत्त्वका साथ हेर्ने बताइएको छ । वेस्टर्न युनाइटेड क्लबका अध्यक्ष रामनारायण घिमिरेले दिएको जानकारीअनुसार अविरलले खेलेका धेरैजसाे व्यावसायिक किक बक्सिङमा सर्वप्रथम भइ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । उनी गएकाे वर्ष नै टोकियोको नागोयामा सम्पन्न हिट ४६ किक बक्सिङको टाइटल जित्न सफल भएका थिए । रोमाञ्जकारी याे भिडन्तमा उनले जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउन्डमै मुक्का प्रहार गरी मैदानमा ढालेर टाइटल उपाधि जित्ने कान्छा बक्सर बनेका थिए ।

उनले अहिलेसम्म हिट–२४ किक बक्सिङ खेलको मिडिल वेटको दुई पटक च्याम्पियन तथा अहिलेसम्म विभिन्न खेलमा अपराजित यात्रा गर्ने क्रममा नौ खेलमा नकआउट गर्दै विजय हासिल गरिसकेका र तीमध्ये नौ अन्तर्राष्ट्रिय खेलका आठ खेलमा सर्वप्रथम भए विश्व कीर्तिमान कायम गर्न सफल भएका गुर्जुराधामा रहेकाे अन्तर्राष्ट्रियस्तरको भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरका अध्यक्ष राजेश घिमिरे जानकारी दिनुभयो ।

अविरलले नियमित रूपमा सिमुरा डोजोमा प्रशिक्षण लिँदै आएका उनले जानकारी दिए । ‘अविरलसँग अद्भूत, अदम्य साहस, जोस र लगनशीलता छ । ऊ राष्ट्रिय प्रतिभा हो । सम्मान गरौँ’, उनले भने ।