मच्छेगाउँका सोनिमलाई राष्ट्रिय कराँते प्रतियोगिताको एकल कातामा स्वर्ण

चन्द्रागिरि, सुबास हुमागाईं।

एपिएफका सोनिम मानन्धरले दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको एकल कातामा स्वर्ण पदक जितेका छन् ।

ललितपुर सातदोबाटोस्थित कराते हलमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो दिन बिहीबार सोनिमले फाइनलमा २४.८० अंकका साथ पहिलो स्थान प्राप्त गरेका थिए । उनलाई कडा चुनौती दिएका नेपाल पुलिस क्लबका महसुस मुक्तानले रजत पदक जिते । उनले २४.४२ अंक प्राप्त गरेका थिए ।

बागमती प्रदेशका रेहान जाभेद र त्रिभुवन आर्मी क्लबका विनय लिम्बुले कास्य पदक जिते । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा रेहान (२३.४०) ले मधेश प्रदेशका बब्लु रायन (१८.०) लाई र विनय (२३.५२) ले प्रदेश १ का आशिष मगर (२३.२०) लाई पराजित गरेका थिए । एकल कातामा ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गर्ने राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चलने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो दिन महिला र पुरुष एकल र टिम काता तथा कुमुतेका दुई प्रतिस्पर्धा हुनेछन् ।

पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, शसस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

हाम्रो खेलकुद