ब्राइट फ्यूचर माविमा चाैथो अन्तरार्ष्ट्रिय स्क्य्राबल प्रतियोगिता आयोजना हुने

चन्द्रागिरि नगरपालिका नैकापस्थित ब्राइट फ्यूचर माविमा भोलि माघ ४ गतेबिहीबारदेखि चाैथो अन्तरार्ष्ट्रिय स्क्य्राबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्क्राबल क्लब नेपालको आयोजना एवं ब्राइट फ्यूचर माविको सहआयोजनामा माघ ४, ५ र ६ गते ब्राइट फ्यूचर माविको हातामा सञ्चालन हुने प्रतियोगितामा नेपालका ३० जना भन्दा बढी विद्यार्थीहरूले सहभागीता जनाउने काठमाडाैं स्क्राबल क्लबका संयोजक बुद्ध गाैतमले जानकारी दिए ।
प्रतियोगितामा भारत, श्रीलङ्का, संयुक्त राज्य अमेरिकाका विद्यार्थीहरू तथा प्रतिनिधिबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगिताका लागि नेपालका विभिन्न जिल्लाबाट सहभागीहरू काठमाडाैं आउने क्रम जारी रहेको ब्राइट फ्यूचर माविका प्रिन्सिपल दयाराम थापाले जानकारी दिए । करिब ३० जना विदेशी पाहुनाको उपस्थिति रहने प्रतियोगिताको उद्घाटन माघ ४ गते बिहीबार अपरान्ह ४ बजे हुने छ भने माघ ५ र ६ गते स्पर्धा हुनेछन् ।

बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्ने प्रतियोगिताको समापन समारोहका लागि संघीय सांसद् कृष्णगोपाल श्रेष्ठलाई आमन्त्रण गरिएको ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताका लागि करिब १० लाख रूपैयाँ खर्च हुनेछ । जुन स्थानिय निकाय चन्द्रागिरि नगरपालिका कार्यालयबाट तथा अन्य सहयोगी हातबाट जुटाइएको छ ।

प्रतियोगितामा सहभागी प्रतिनिधि तथा खेलाडीहरूका लागि आवश्यक व्यवस्थापनका लागि सो रकम खर्च हुने बताइएको छ ।

प्रतियोगितामा प्रतियोगी र प्रतिनिधि गरि करिब १ सय जनाको सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन संसारभर खेलाइने स्क्राबल खेल पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको छ ।

चन्द्रागिरि नगरका ब्राइट फ्यूचर मावि तथा जेसिस माविमा स्क्राबल क्लब नै गठन गरि यस शैक्षिक खेलको प्रवर्द्धनको प्रयास भइरहेको स्क्राबल क्लब पोखराका अध्यक्ष केशव प्रसाद पराजुलीले बताए