नेपालको प्रमुख प्रशिक्षक छाडेको अलमुताइरीको घोषणा

२६ भदौ, काठमाडौं । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । हाल कुवेतमा रहेका अल्मुताइरीले आइतबार सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

यसअघि पनि उनले बारम्बार नेपाली टिमबाट राजीनामा दिने घोषणा गर्दै आएका थिए । तर उनको शैली फरक थियो । यस पटक भने उनले ५२५ दिन नेपाली फुटबललाई सेवा गरेपछि आफ्नो कार्यअवधी टुङ्ग्याएको जनाएका छन् ।पछिल्लो पटक भएको तीन वर्षको सम्झौता अनुसार उनी २०२४ अक्टोबर ३१ सम्मका लागि प्रशिक्षक थिए ।

उनले आफ्नो यस यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने प्रशिक्षकको राजीनामाको विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । एन्फाले यस विषयमा केही समयपछि आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

कतार फुटबल संघ (क्युएफए) को आर्थिक सहयोगमा नेपाल आएका अल्मुताइरीको सुरुको सम्झौतामा तीन पक्ष एन्फा, क्युएफए र अल्मुताइरीबीच सहमति भएको थियो । दोस्रो पटक भने एन्फा र अल्मुताइरीबीच मात्र सम्झौतामा हस्ताक्षर भएको थियो ।

एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ हालै कतार भ्रमण सकाएर फर्केपछि अल्मुताइरीले राजीनामा घोषणा गरेका छन् । अध्यक्ष नेम्वाङले कतार पुटबल संघका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अल थानीसँग शनिबार भेटवार्ता गरेका थिए ।

भेटमा नेपाललाई कतारको सहयोगलाई निरन्तरता दिने र सम्बन्धलाई सुमधर बनाउने विषयमा छलफल भएको थियो । प्रशिक्षकको विषयमा पनि क्युएफए सकरात्मक बनेको थियो । यो भेटको बारेमा अल्मुताइरीले पनि पाएको अनुमान छ ।