चन्द्रागिरि ।
कुरा जस्तै काम हुने हो भने अबको केही वर्षभित्रै चन्द्रागिरि नगरपालिकाको सिमानामा बञ्जी जम्पको मज्जा लिन पाइने छ । चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाको सिमाना स्थलमा बनेको झोलुङ्गे पुलमा बञ्जी जम्पको सम्भाव्यता अध्ययन सुरु भएको छ ।
‛पुल बनेसँगै बन्जी जम्पको सम्भावनाबारे अध्ययन भैसकेको छ, कीर्तिपुर र चन्द्रागिरि दुवै नगरपालिकाले चासो देखाएका छन्’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिकुमार कार्कीले भने, ‛बञ्जी जम्पसमेत भयो भने यसले कीर्तिपुर र समग्र काठमाडौंकै पर्यटन प्रबद्र्धनमा ठूलो सहयोग पुग्नेछ ।’
‛थोरै उचाईमा हुने बञ्जी जम्पको लागि प्राविधिक हिसाबले उपयुक्त देखिन्छ’ पुल निर्माणमा संलग्न इञ्जिनियर भागवत यादवले भने, उज्यालोअनलाइनमा खबर छ । उनका अनुसार पुलको उचाई ४० मिटर छ । बञ्जी जम्प बनाउने हो भने पुलको बिचमा केही भाग थपे मात्र पुग्नेछ ।
कीर्तिपुर नगरपालिका भवन नजिकै रहेको यो ठाउँमा पुल बनाउन यहाँका बासिन्दाले वर्षौंदेखि माग गर्दै आएका थिए । शनिबार मात्रै यो पुलको उद्घाटन भएको थियो । पुल उद्घाटन गर्दै युवा तथा खेलकूद मन्त्री एवं यस क्षेत्रका सांसद राजेन्द्रकुमार केसीले स्थानीय बासिन्दाको सहजता र पर्यटकीय दृष्टिकोणले समेत यो पुल महत्वपूर्ण हुने बताएका थिए । ।