काठमाडौं प्रेसको समाचार हटाइएकोमा सिरान्टेक टेक्नोलोजीले माग्यो माफी

काठमाडौं, चैत्र २१ । सिरान टेक्नोलोजीले काठमाडौं प्रेस डटकमको समाचार मेटेको स्वीकार्दै माफी मागेको छ । बिहीबार विज्ञप्ति निकाली सिरान टेक्नोलोजीले आफ्ना प्राविधिकबाट समाचार मेटिन गएको भन्दै गल्ती स्वीकारे हो ।

सिरान टेक्नोलोजिज काठमाडौं प्रेसको वेबसाइट निर्माता हो । काठमाडौं प्रेस डटकमले बुधबार सिरानले आफ्नो सञ्चालकविरूद्धको समाचार हटाएको भन्दै आपत्ति जनाएको थियो ।

बिगत ११ बर्षदेखि सिरान टेक्नोलोजीले एक सयभन्दा बढी न्युजपोर्टलहरुको निर्माण र व्यवस्थापन गर्दै आईरहेकोमा यस्तो दुःखद घटना पहिलो पटक भएको सिरानको विज्ञप्तिमा उल्लेख छ ।

‘काठमाडौं प्रेसको वेबसाइटबाट केही समयका लागि अनपेक्षित रूपमा समाचार हटेको घटनामा हामी क्षमाप्रार्थी छौं,’ सिरानको विज्ञप्तिमा उल्लेख छ । ‘एउटा जिम्मेवार कम्पनीका रूपमा हामी हाम्रो त्रुटी स्वीकार्दै काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रा शुभचिन्तकसँग क्षमायाचना गर्छौं।’ विज्ञप्तिमा भनिएको छ ।

लकडाउनका कारण आफ्नो प्राविधिक टिम घरबाट काम गरिरहेका बेला ‘गलत सूचना आदानप्रदान हुँदा गम्भीर त्रुटि हुन गएको’ कम्पनीले जनाएको छ ।