ढुंगेअड्डामा ट्रकले ठक्कर दिंदा मोटरसाइकलमा सवार चेकपोष्ट बस्ने महिला घाइते

काठमाडौं, जेठ २६ गते । सवारी दुर्घटनामा परी एक महिला घाइते हुनुभएको छ । बिहीबार बिहान चन्द्रागिरी नगरपालिका वडा नं.१५ को ढुङ्गेअड्डास्थित मूल सडक खण्डमा कलंकीबाट थानकोटतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १५८५ नम्बरको ट्रकले सोही दिशाबाट जाँदै गरेको सु.प्र.०१–००८ प ९७५२ नम्बरको पठाउ मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गोर्खाको गाम्चा घर भई हाल चन्दागिरी चेकपोष्ट गुम्बा पाल्टेन प्लटिङ बस्ने ३३ वर्षीय महिला घाइते हुनुभएको हो । प्रहरीले ततकालै घाइतेलाई उपचारका लागि कलंकीस्थित नेपाल नेशनल अस्पताल लगी उपचार गराएकोमा त्यहाँबाट थप उपचारका लागि मेडिसिटी अस्पतालमा रिफर गरिएको छ ।

उहाँको दुबै खुट्टामा चोट लागेको छ भने बोल्न नसक्ने अवस्थामा रहेको महानगरीय प्रहरी परिसर, टेकुका प्रवक्ता दिनेशराज मैनालीले बताउनुभयो । उहाँका अनुसार दुर्घटनामा संलग्न दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।