च्यासललाई हराउँदै पुलिस सेमिफाइनलमा

काठमाडौं– नेपाल पुलिस क्लब तेस्रो चन्द्रागिरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको तेस्रो क्वाटरफाइनलमा डिफेन्डिङ च्याम्पियन च्यासल युवा क्लबलाई १-० ले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसको जितमा एकमात्र गोल सुमन लामाले गरे । उनले खेलको १७ अौं मिनेटमा च्यासलको डिफेन्सले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरे । रवी पासवानले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसक्दा सुमनले गरेको प्रहार च्यासलका कप्तान तथा‌ गोलरक्षक एलन न्यौपनेले बचाउन सकेनन् ।

दोस्रो हाफमा च्यासलले गोलका अवसर सिर्जना गर्दै पुलिसलाई दवावमा राखेपनि गोल फर्काउन सकेन । अग्रपंक्तिमा रहेका खेलाडी फिनिसिङमा चुक्दा जापानी खेलाडीसहित उत्रिएको च्यासलको उपाधि रक्षा गर्ने लक्ष्य सफल भएन । पुलिसले अब फाइनल प्रवेशका निम्ति मंगलबार ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । ब्रिगेड ब्वाइजले आर्मीलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको थियो ।

आइतबार अन्तिम क्वाटरफाइनलमा सरस्वती युवा क्लब र संकटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो २:३० बजे हुनेछ । तेस्रो संस्करणको प्रतियोगितामा ‘ए’ डिभिजनका १० टोली र आयोजकको दुई गरी १२ टोलीको सहभागिता रहेको छ । १४ मंसिरमा फाइनल खेल हुनेछ । वि

प्रतियोगिताको विजेता टोलीले ६ लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुनेले ३ लाख ५० हजार रुपैयाँ हात पार्नेछ ।सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ प्रदान गरिनेछ । पहिलो संस्करणमा हिमालय शेर्पा क्लब तथा दोस्रो संस्करणमा भ्याली च्यासल युथ क्लब च्याम्पियन बनेको थियो ।