थानकोट प्रहरी वृत्तमा महानिरीक्षकको छड्के

1367

काठमाडौँ, २४ असार । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आकस्मिक रुपमा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गरेका छन् ।

खनाल गृहजिल्ला तनहुँका विभिन्न कार्यक्रम सकेर काठमाडौँ फर्कने क्रममा आकस्मिक रुपमा महानगरीय प्रहरी वृत्त थानकोटको निरीक्षण गरेका हुन् ।

सोही अवसरमा उनले थानकोट प्रहरीले चन्द्रागिरी क्षेत्रमा दिएको सुरक्षा अवस्था र समस्याबारे जानकारी लिएका थिए ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक कुमारविक्रम थापाले जग्गा अभाव र सुविधासम्पन्न भवनको अभावका कारण थानकोट प्रहरीले भोग्नुपरेको समस्या प्रहरी महानिरीक्षक खनालसमक्ष राखेका थिए ।

महानिरीक्षक खनालले पोखरा, तनहुँको बेलचौतारा, जिल्ला प्रहरी कार्यालय तनहुँ, मुग्लिङ, गजुरी, नौबिसेलगायतका प्रहरी कार्यालयहरुको अवलोकन गरेका थिए ।

अघिल्लो पटक पोखरा र चितवनका विभिन्न कार्यक्रममा जाँदा उक्त स्थानको अवलोकन, निरीक्षण र निर्देशन दिएका खनालले पछिल्लो समय भएका कार्य र प्रगतीबारे जानकारी लिएका हुन् ।

सोही अवसरमा उनले सेवाग्राहीको समस्यासमेत सुनेका थिए ।