नागढुंगा सुरुङमार्गको जिम्मा जापानी कम्पनीलाई, असारमा शिलान्यास, असोजबाट काम सुरु हुने

चन्द्रागिरी, राजधानी प्रवेश गर्ने मुख्य मार्ग नागढुङगा- नौविसे सडक खण्डमा सुरुङमार्ग निर्माणको काम सुरु हुने भएको छ। सुरुङमार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा /आन्दो जेभीले पाउने भएको छ । सडक विभागका अनुसार आगामी असारसम्म कम्पनीसँग ठेक्का सम्झौता गरेर काम थालिने छ ।

विकास सहायता कार्यान्वयन महाशाखाले निकालेको ग्लोवल टेण्डरमा पाँच वटा चिनियाँ कम्पनी र एउटा जापानी कम्पनीले आवेदन दिएका थिए। ती कम्पनीमध्ये जापानी कम्पनीलाई सुरुङमार्ग निर्माणको जिम्मा दिने निर्णय गरिएको हो।

जापानी ऋण सहयोगमै बन्ने भएकाले जापानी कम्पनीलाई नै दिनुपर्ने दबाब समेत परेको ती अधिकारीको भनाई छ। जापानी कम्पनीलाई नै दिनुपर्ने भएपछि करिव ७० करोड रुपैयाँ कवुल गरेको रकम घटाउन लगाएर दिन लागिएको हो। जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ ।

विभागका अनुसार यो सुरुङमार्गको लम्बाइ २.३५ किलोमिटर हुनेछ । अहिले सडकमा सानो अवरोध आउँदा पनि नौबीसेदेखि काठमाडौ प्रवेश गर्न नाकामै तीन घन्टासम्म पनि जाममा बस्नुपर्ने बाध्यता छ । सुरुङमार्ग निर्माण भएपछि भने २० मिनेटमा काठमाडौं प्रवेश गर्न सकिने विभागको दाबी छ ।

हाज्मा /आन्दो जेभीले नेपालमा बीपी हाईवे, सुर्यविनायक कोटेश्वर सडक खण्ड लगायतका धेरै सडक र परियोजना निर्माण काम गरिसकेको छ।