
काठमाडौं । सरकारले नौबिसेको सिस्नेखोला र काठमाडौंको सतुंगल नजिकको बस्नेतछाप जोड्ने सुरुङमार्गको निर्माणका लागि एक महिनाभित्रै टेन्डर गर्ने तयारी गरेको छ । यो सुरुङमार्ग बनाउन सरकारले जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेको छ ।
सुरुङमार्गको डिजाइन जापान सरकारले तयार गरिसकेको छ । अहिले सडक विभाग आफैंले त्यही डिजाइनका आधारमा विस्तृत परियोजना प्रतिवेदन तयार गर्दैछ । त्यसको रिपोर्ट तयार हुनासाथ टेन्डरमा जाने योजना बनाइएको विभागको वैदेशिक सहायता महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।
‘मार्चभित्रै डीपीआरलाई अन्तिम रूप दिएर ग्लोबल टेन्डरमा जाने योजना छ,’ श्रेष्ठले भने, ‘यो परियोजना सडक विभागको लागि निकै उपयोगी सिकाइ हुने अपेक्षा छ ।’ उनका अनुसार सुरुङमार्ग निर्माण थाल्न ढिलाइ गर्ने पक्षमा विभाग छैन ।
सुरुङमार्गका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ । जापानले ०.०१ प्रतिशत व्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । उक्त परियोजनामा १६ अर्ब लागत अनुमान गरिएको छ । सरकारले यस वर्ष पाँच अर्ब ९४ करोड रुपैयाँ छुट्याएको छ ।
सुरुङको लम्बाइ २.३५ किलोमिटर हुनेछ, जसमार्फत् नागढुंगाको जामबाट छुटकारा पाइनेछ । राजधानीको एक मुख्य प्रवेशद्वार नागढुंगाबाट काठमाडौं प्रवेश गर्न नौबिसेदेखि तीन घण्टासम्म लाग्छ । सुरुङबाट २० मिनटमै काठमाडौं प्रवेश गर्न सकिनेछ ।
आयल निगमको थानकोट डिपोभन्दा मुनि निस्किने सुरुङलाई पुनः त्रिभुवन राजपथमा ल्याएर जोड्न दुई दशमलव २५ किमिको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । पहुँच मार्ग टेलिकम कार्यालयनजिक मुख्य राजमार्गमा जोडिनेछ । धादिङको सिस्नेखेलातर्फ भने सडक निर्माण गर्नुपर्ने छैन ।